जिल्ला अस्पतालमा पानीको अभाव हुँदा बिरामीलाई समस्या

  ०७६ जेठ १४ गते

जिल्ला अस्पताल सल्ले रूकुम पश्चिममा खानेपानीको अभाव हुँदा बिरामी र बिरामी कुरुवा मर्कामा परेका छन् ।

गत चैत महिनादेखि पानीको समस्या भएपछि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी तथा बिरामी कुरूवालाई समेत समस्या भएको हो ।

पानी नियमित नआउँदा बिरामी आफैँले बजारबाट पानी किनेर ल्याउने गरेको अस्पतालमा सेवा लिन आएकी टिमुनी केसीले बताइन् ।

पानी नआउँदा अस्पतालमा सरसफाईको समस्या भएको उनको भनाई छ । पानीको समस्याले शौचालय प्रयोग गर्न तथा अस्पतालका विभिन्न सामग्री र कपडा सफा गर्न पनि समस्या भएको छ ।

अस्पतालमा खानेपानी अभाव भएपछि सबैलाई समस्या भएको अस्पालका प्रमुख डाक्टर महेश चौलागाईंले बताए । गर्मीयाम सुरू भएसँगै मुहानमा पानीको मात्रा घटेको र ठूलो पानीलाई साना सहरी खानेपानी आयोजनाले लैजाँदा पानीको समस्या भएको डाक्टर चौलागाईंको भनाइ छ ।

जिल्ला अस्पतालमा दैनिक करिब १५ हजार लिटर पानी आवश्यक पर्ने भएपनि हाल अस्पतालमा करिब ५ हजार लिटर क्षमताको मात्र ट्याङ्की रहेको अस्पतालले जनाएको छ । सोही ट्याङ्कीमा रातभर पानी जम्मा गरेर दिउँसो प्रयोग गर्दै आएको र त्यसले औजार सरसफाई गर्न नपुग्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुन्दर ओलीले बताए ।

अस्पतालका साथै सल्लेको बस्तीमा समेत पानीको समस्या भएको स्थानीय घने थापाले बताए । पहिले समुदाय मिलेर नजिकैको टिमुरखोलाबाट खानेपानी ल्याएकोमा अहिले सो मुहानबाट साना सहरी खानेपानी आयोजनाले वितरण लिएपछि समस्या थपिएको उनको भनाइ छ । अहिले सो मुहानबाट पानी नआउने, कहिलेकाँही आएमा पनि एकघण्टामै सुक्ने भएकोले पानी अपुग भएको स्थानीयको गुनासो छ ।

अस्पतालमा पानीको समस्या भएको गुनासो आएपछि आफू स्थलगत रूपमा गएर हेर्दा त्यस समस्याप्रति संवेदनशील भएको र तत्कालै समाधानको पहल गर्ने मुसिकोट नगरपालिका प्रमुख देवीलाल गौतमले बताए । गौतमले समुदाय र अस्पतालमा रहेको पानीको समस्यालाई लामो समय यथावत् रहन नदिने प्रतिबद्धता गरे ।


मनिषा केसी