जिल्ला अस्पतालमा पानीको अभाव हुँदा बिरामीलाई सास्ती

  ०७६ असार २४ गते

जिल्ला अस्पताल हुम्लामा तीन हप्तादेखि पानीको अभाव हुँदा समस्या भएको छ । अस्पतालमा असार ४ गतेबाट खाने पानीको अभाव हुँदा बिरामीका साथै कुरूवालाई पनि समस्या भएको सेवाग्राही देविसिंह बुढाले गुनासो गरेकी छन् ।

बिरामीको चाप बढी भएको समयमा धेरै पानी आवश्यक पर्ने भएपनि तीन हप्तादेखि खानेपानी नआउँदा समस्या भएको भएपनि सरोकारवालाको ध्यान जान नसकेको बुढाले बताए ।

जिल्ला अस्पतालका अनुसार तीन हप्तायता खानेपानी नआएपछि बिरामीको उपचारमा समेत समस्या भएको, जिल्ला अस्पतालका प्रमुख डाक्टर दुर्गा सुर्खालीले बताए ।

पानीको अभावका कारण बिरामीलाई सरसफाई गर्न, अस्पतालका सामग्री सफा गर्न, शौचालय जान र पिउने, खाना पकाउने लगायतका काममा समेत समस्या भएको सुर्खालीले बताए ।

अस्पताल जस्तो संवेदनशील ठाउँमा चौबीसै घण्टा पानीको आवश्यकता पर्ने भएपनि मर्मतका लागि खबर गरेपनि खानेपानी उपभोक्ता समितिले बेवास्ताले गर्दा जिल्ला अस्पताल यतिखेर सङ्कट पुर्ण अवस्थामा रहेको डाक्टर नविन रोकायाले बताए ।

पानीको अभावले बर्थिङ सेन्टरमा प्रसूती वार्डलाई बढी समस्या भएको छ । जुनसुकै बेला पनि पानीको आवश्यक पर्ने भएपनि धारामा पानी नआउँदा बिरामीका आफन्तले जिल्ला अस्पतालदेखि ४५ मिनेट टाढाको बाटोबाट पानी बोकेर ल्याउनु परेको जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन् ।

खानेपानीको समस्याका बारेमा खानेपानी उपभोक्ता समितीका अध्यक्ष कर्ण भण्डारीलाई बुझ्दा अस्पतालमा जडान गरिएको पानीको पाइप लाइनको कुन ठाउँमा समस्या आएको हो भन्ने एकिन नहुँदा अहिलेसम्म समस्या हल गर्न नसकेको बताए ।


नन्द सिंह