जिल्ला अस्पतालमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रभावित

  ०७६ मङ्सिर १८ गते

जिल्ला अस्पताल खोटाङमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कर्मचारी समायोजन भएर तोकिएको दरबन्दीमा जानु र समायोजनमा गएकाहरूको रिक्त पदमा सरकारले कर्मचारी नपठाउँदा सेवा प्रवाहमा समस्या भएको हो ।

अस्पतालमा हरेक विभागमा दुई जना कर्मचारीको दरबन्दी भए पनि यतिबेला एक जनाले सेवा प्रवाह गर्नुपर्ने समस्या छ ।

अस्पतालमा एक्सरेमा दुईजनाको दरबन्दी भए पनि हाल एक जना मात्रै कर्मचारी छन् । कर्मचारी नहुँदा २४ घण्टे एक्सरे सेवा सञ्चालनमा सबैभन्दा बढी समस्या रहेको जिल्ला अस्पताल दिक्तेलका निमित्त प्रमुख रोशन ग्वाछाले बताउनुभयो ।

कर्मचारी अभावले एक्सरे सेवा प्रभावित हुने गरेको छ । जसका कारण सेवाग्राहीहरू सेवा काठमाडौँ, विराटनगर र धरानलगायतका अस्पताल पुग्नु परेको छ ।

१५ शैयाको जिल्ला अस्पतालमा इन्डोर नर्सिङ स्टाफको दरबन्दी चार जनाको भएपनि एकजना मात्रै कार्यरत छन् ।

कार्यरत एक जनाको पनि संघमा समायोजन भएको छ । इमरजेन्सी हेल्थ एसिस्टेण्ट समायोजन भएर गएपनि सो स्थानमा अर्को कर्मचारी नआउँदा समस्या भएको निमित्त प्रमुख ग्वाछाले बताउनुभयो । अस्पतालमा कार्यरत दुईजना अहेवको स्थानीय तहमा समायोजन भइसकेको छ । एनेस्थेसिया असिस्टेण्ट (बिरामीलाई अचेत पार्ने सहयोगी) एकजना समायोजन भई प्रदेशमा गएपछि करारमा कर्मचारी नियुक्ती गरेर काम चलाउनु परेको छ । मेडिकल अफिसर (आठौँ तह)को दरबन्दी दुईजनाको भए पनि हाल एकजनामा मात्रै कार्यरत छन् ।

सरकारले समायोजन भएका कर्मचारीहरू नपठाउँदा अधिकांश शाखा तथा मेशिन र ल्यावहरूमा आवश्यक जनशक्ति छैन ।

कर्मचारी अभावले बिरामीलाई गुणस्तरीय सेवा दिन कठिन भइरहेको निमित्त प्रमुख ग्वाछाको भनाइ छ । उहाँले समस्या समाधानका लागि प्रदेश सरकारलाई जानकारी गराएपनि समस्या हल नभएको बताउनुभयो ।


रामधन राई