जिल्ला अस्पतालमा औषधि नभएपछि बिरामीलाई जिल्ला बाहिर रिफर

  ०७६ कात्तिक ३ गते

जिल्ला अस्पताल हुम्लामा सामान्य खालका बिरामीहरू आएपनि औषधि र उपकरण नभएपछि बिरामीलाई जिल्ला बाहिर रिफर गर्ने गरेको छ ।

खार्पुनाथ गाउँपालिका–४ की ३५ वर्षीया भयवती शाही कात्तिक २ गतेका दिन सोही ठाउँको जंगलमा घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी घाइते भएकी थिइन् ।

गाउँमा केही प्रथामिक उपचार भएपछि पैदल मार्गबाट बोकेर करब ५ घण्टा लगाएर जिल्ला अस्पतालमा पुर्‍याएको भयवतीका पति रामपुर शाहीले बताए ।

सोही दिन जिल्ला अस्पतालमा पुर्‍याए तर ढाड र गालामा ठूलो घाउ चोट लागेका कारण उपचार गर्न नसकिने भएपछि जिल्ला बाहिर नेपालगञ्जमा रिफर गरिएको उनका पतिले बताए ।

एउटा जिल्लाको समग्र रूपमा सेवाग्राहीलाई सेवा दिइरहेको जिल्ला अस्पतालमै सामान्य खालका औषधि र उपकरणहरू नभएपछि आर्थिक सङ्कलन गरेर पनि जिल्ला बाहिर लैजानु पर्ने बाध्यता रहेको शाहीको गुनासो छ ।

जिल्लामा उपचार गर्ने उपकरण तथा आवश्यक औषधि नभएपछि कात्तिक २ गते नै जिल्ला बाहिर रिफर गर्न बाध्य भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर दुर्गा सुर्खालीले बताए ।

उनले भने–‘अरू समस्या हल भए पनि यस्ताखाले समस्याहरू जिल्ला अस्तालमा हल नहुने भएकाले रिफर गर्नुपरेको हो ।’


नन्द सिंह