जिल्ला अस्पतालमा औषधिको अभाव, सेवाग्राही मर्कामा

  ०७६ असार १५ गते

जिल्ला अस्पतालबाट निःशुल्क वितरण गरिने औषधि अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । जिल्ला अस्पताल बिजुवारमा सेवा लिन आउने बिरामीहरू औषधि नपाएपछि स्थानीय मेडिकलबाट खरिद गर्न बाध्य भएका छन् ।

उपचारका लागि जिल्ला अस्पताल आएका प्यूठान नगरपालिका-३ का धनबहादुर गोतामेले सिटामोल बाहेक अन्य औषधि नपाएपछि स्थानीय औषधि पसलबाट खरिद गर्नुपरेको बताए । उनले स्वास्थ्य बिमा बाट निःशुल्क पाउने औषधि समेत नभएको बताए ।

नेपाल सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत बिरामीहरूले पाउनु पर्ने निःशुल्क औषधिहरू नभएको जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर शेषराज घिमिरेले बताए ।

डा. घिमिरेले नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेपछि जनताको स्वास्थ्य सेवा पाउने अपेक्षा धेरै भएको र सरकारले नागरिको अपेक्षा अनुरूपको काम गर्न नसकेको बताए ।

उनले कार्यालयमा लेखालगायत अन्य क्षेत्रमा कार्यरत कर्मचारी अभावका कारण औषधि खरिद प्रक्रिया ढिलो भएकोले केही दिनमा समस्या समाधान हुने बताए ।

अस्पतालमा ग्याष्टिकको उपचारमा प्रयोग गरिने पेन्टाप, एसिलक, मुटुका बिरामीलाई दिइने मेटलक, पखाला तथा पेटका बिरामीका लागि प्रयोग गरिने मेट्रोलगायत मधुमेह बिरामीका लागि प्रयोग गरिने औषधि लगायतका एन्टिवायोटिक औषधि अभाव भएको अस्पताल प्रशासनले जनाएको छ ।


रविन्द्र पाण्डे