जिल्ला अस्पतालमा औषधिको चरम अभाव

  ०७६ असोज १९ गते

औषधिको चरम अभाव सिर्जना हुँदासमेत राज्यद्वारा परिपुर्तिका लागि कुनै पहल नहुँदा जिल्ला अस्पताल बैतडीमा अत्यावश्यक औषधिको अभाव भएको छ ।
जसका कारण यहाँका बिरामीहरू समस्यामा परेका छन् । जिल्ला अस्पतालमा पाँच महिनादेखि औषधिको अभाव हुँदा बिरामीहरू समस्यामा परेका अस्पतालका प्रमुख डा. जगदीश विष्टले बताए ।
नेपाल सरकारको नियामनुसार हाल जिल्ला अस्पताल बैतडीबाट ७० प्रकारका औषधिहरू निःशुल्क रूपमा उपलब्ध गराउनु पर्ने भएता पनि हाल जिल्ला अस्पतालमा १०–१२ प्रकारका औषधि मात्रै रहेको डक्टर विष्टले बताए । उनले भने–‘यी औषधि पनि नियमित आउँदैनन् ।’
औषधि अभावको बारेमा पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत अझैसम्म आपुर्ति हुन नसकेको उनको भनाई छ ।
‘नेपाल सरकारले निशुल्क दिने भनेका सबै औषधि कहिले पनि पुरा भएनन् । खास गरी विगत पाँच महिनादेखि यहाँ औषधिको बढी अभाव भएको हो ।’–उनले भने–‘धनगढीस्थित मेडिकल स्टोरमा पनि औषधि अभाव भएकाले आपुर्ति नभएको सुनिएको छ । खै कहिले पो आपुर्ति हुन्छ ?’
जिल्ला अस्पतालमा मात्रै होइन अन्य नगर तथा गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि नेपाल सरकारले निःशुल्क दिने भनेका औषधिको अभाव छ । यहाँका स्थानीयले सामान्य बिरामी पर्दा समेत निजी मेडिकलको भर पर्नु परेको स्थानीय ईश्वर बोहराले बताए ।
अहिले भाइरल ज्वरोका बिरामीहरूको चाप अस्पतालमा बढी भएपनि औषधि अभाव हुँदा समस्या भएको प्रमुख बिष्टको भनाई छ ।
स्वास्थ्य संस्थामा पुग्दा औषधि नै छैन भन्ने जबाफ आउने गरेको दशरथचन्द नगरपालिका–५ का स्थानीय बिस्ना चन्दको भनाई छ ।
उनले भने–‘समान्य खालका सिटामोल, आइरन चक्कीसमेत पाइँदैन । यसले गर्दा बिरामीहरूले निकै समस्या भोग्नु परेको छ । जहिले पनि औषधि नै छैन भन्छन् खै के हो ?’
नेपाल सरकारले निशुल्क औषधिको बर्गिकरण गरेपनि कहिल्यै पनि ति सबै औषधिहरू स्वास्थ्य संस्थामा पुग्न नसकेको ग्वाल्लेक स्वास्थ्य चौकीका प्रमुख शिवकुमार कठहरीयाले बताए ।
संविधानको भाग ३, धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ भनी लेखिएको छ ।

बिमा गरेकाले पनि पाउदैनन् औषधि
नेपाल सरकारले विपन्न नागरिकको उपचारमा सहजताका लागि ल्याएको बवमा कार्यक्रम अन्तर्गत बिमित सदस्यहरूले समेत औषधि नपाएको गुनासो गरेका छन् ।
बिमा गरेपछि प्रति परिवार ५० हजार सम्मको औषधि र उपचार निःशुल्क पाउनुपर्ने भएपनि सो सेवाबाट वञ्चित भएको मेलौली नगरपालिका–३ का बिरसिंह बोहराले गुनासो गरे ।
उनले भने–‘२ हजार ५ सय रुपियाँको बिमा गराए तर तीन दिन ४ घण्टा हिँडेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि माग्न गएँ । एक दिनपनि औषधि दिएनन् ।’
उनले दोहो¥याए–‘२ हजार ५ सय रुपियाँको औषधि मेडिकलबाट नै किनेको भए बरु हुन्थ्यो, फोकटमा तिनीहरूलाई दिएजस्तो लागेको छ । बिरामी भएको बेला औषधि दिएनन् भने अब कहिले दिन्छन् ?’
बिमित सदस्यहरूले निःशुल्क रूपमा पाउने औषधिहरू स्वास्थ्य संस्थामा नभएकाले उनिहरुले किन्नुपर्ने बाध्यता भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर जगदीश विष्टले बताए ।
उनले भने–‘बिमाको कार्ड ल्याएर के गर्ने स्वास्थ्य चौकीमा औषधिपनि हुनुपर्‍यो ।’ औषधिको अभावको समस्याका बारेमा राज्य संवेदनशील हुनुपर्ने नागरिक समाज बैतडीका सचिव कर्ण दयालको भनाई छ ।


नरी बडु