जिल्ला अस्पतालमा एक वर्षयता शल्यक्रिया प्रसूति सेवा बन्द

  ०७६ माघ २८ गते

विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पताल धनकुटामा एक वर्षयता शल्यक्रियाको सेवा अवरूद्ध भएको छ ।

प्रदेश सरकारले जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर र शल्यक्रिया गर्ने चिकित्सक नपठाएपछि शल्यक्रिया सेवा सञ्चालन हुन नसकेको हो ।

अस्पतालमा शल्यक्रिया नभएपछि सामान्य शल्यक्रिया गराउनुपर्ने बिरामीहरू जिल्ला बाहिर महङ्गो खर्चमा उपचार गराउन बाध्य भएका छन् ।

जिल्ला अस्पताल, धनकुटामा प्रदेश सरकारले एक वर्षदेखि विशेषज्ञ डाक्टर र सर्जन नपठाउँदा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।

सरकारले विशेषज्ञ डाक्टर र सर्जन नपठाएपछि जनशक्तिको अभावमा शल्यक्रिया सेवा नै बन्द गरिएको जिल्ला अस्पताल धनकुटाका निमित्त प्रमुख मेडिकल अधिकृत पुजन विश्वकर्माले बताउनुभयो ।

अस्पतालका लागि एक जना विशेषज्ञ डाक्टर, सर्जन र शल्यक्रिया फाँटकै नर्ससहित अन्य दर्जन कर्मचारी समेतको सेवा दिने काम प्रदेश सरकारको भएपनि दरबन्दी अनुसारको सेवा नदिएपछि धनकुटाका बासिन्दा सामान्य अप्रेशन र उपचारबाट वञ्चित हुनुपरेको डाक्टर विश्वकर्माले बताउनु भयो ।

विशेषज्ञ डाक्टरसहित सर्जन र शल्यक्रिया गर्ने चिकित्सक पठाई दिन अनुरोध गरी पत्रचार गर्दा पनि सुनुवाइ नभएको अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख टङ्क चुहानले गुनासो गर्नुभयो ।

शल्यक्रिया सेवा नभएपछि सोको समस्या सबैभन्दा बढी प्रसूति विभागमा परेको छ । सेवा नहुँदा अन्तिम समयमा गर्भवती महिलालाई प्रसूति गराउन जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।

प्रदेश सरकारले दरबन्दी अनुसार कर्मचारी नपठाउँदा उपचारको अभावमा बिरामीले अकालमै ज्यान गुमाउनु परेकोे नागरिक समाज, धनकुटाका दोर्णप्रसाद गुरागाईले बताउनुभयो ।

जिल्ला अस्पतालमा सेवा नहुँदा उपचार गर्नको लागि बिरामीलाई सुनसरी मोरङ वा राजधानी लैजान सक्ने सबैको अवस्था नभएकोले उपचार नै नपाई मृत्युवरण गर्नुपर्ने अवस्था आउने गरेको अध्यक्ष गुरागाईले बताउनुभयो ।

०७६ माघ २२ गते जिल्ला अस्पतालमा उपचार हुन नसक्दा धनकुटा नगरपालिका–२ भीरगाउँकी २५ वर्षीया रमिता मगरले धरान गएर सेवा लिनबाध्य भएको उहाँका पति मोहनकुमार मगरले बताउनु भयो ।
चिकित्सक अभावका कारण सामान्य प्रसूति सेवाका लागि रमितालाई धरान लानुपरेको मोहनले बताउनु भयो ।

यस्तै जिल्ला अस्पतालमा धनकुटामा औषधि अभाव हुदाँ सेवाग्राहीहरू मर्कामा परेका छन । अस्पतालमा नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधि अभाव रहेको छ ।

जिल्ला अस्पतालबाट ७२ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था भएपनि ३० प्रकारका औषधि अपुग भएको जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत डाक्टर पुजन विश्वकर्माले बताउनु भयो ।

अस्पतालमा दैनिक ५० देखि ७० जनासम्म बिरामी उपचारका लागि आउने गरेको भएपनि आवश्यक औषधि नहुँदा बिरामीहरू मेडिकलबाट खरिद गर्न बाध्य छन ।

जिल्ला अस्पतालमा औषधि नपाएपछि बिरामीले निजी क्लिनिकमा महङ्गो शुल्क तिरेर सेवा लिने गरेको धनकुटा नगरपालिका–२ का रामबहादुर दाहालले बताउनु भयो । ‘जिल्ला अस्पतालको नाम छ त्यसै अनुसार उपचार पाइन्छ होला भनेर सदरमुकाम आउने गरेका छौँ । उपचार पाउने आशमा दुःख कष्टका साथ जिल्ला अस्पतालमा आइन्छ तर, डाक्टरले चेकजाँच पछि हामी कहाँ औषधि छैन भनेर फर्काउनु हुन्छ ।’ दाहालले भन्नु भयो । उहाँले बाध्य भएर निजी क्लिनिकबाट महङ्गो शुल्क तिरेर उपचार गर्नु परेको बताउनु भयो ।

जिल्ला अस्पतालमा स्वास्थ्य चौकी स्तरका औषधि मात्र उपलब्ध छन । सुईबाट दिइने औषधि, बच्चालाई खुवाउने झोल औषधि, सलाइन लगायतका औषधि अभाव भएको छ । औषधिसँगै जिल्ला अस्पतालमा आवश्यक उपकरण सञ्चालन हुन सकेका छैनन् ।

कम  भोल्टेजका कारण प्रदेश सरकारले उपलब्ध गराएका भिडियो एक्स–रे, एक्स–रे लगायतका मेसिन नियमित रुपमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पतालले जनाएको छ ।

अस्पतालले सामान्य प्रसूति बाहेक शल्यक्रियाको सेवा दिन नसकेका कारण बिरामीलाई उपचारका लागि जिल्ला बाहिर लैजानु पर्ने बाध्यता रहेको छ ।

औषधि खरिद गर्ने प्रक्रिया नमिलेको र बजेटको समेत व्यवस्था नभएकोले औषधि उपलब्ध हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिती प्रमुख चुहानले बताउनु भयो । उहाँले छिट्टै आवश्यक औषधि उपलब्ध गराउने बताउनु भयो ।


ईश्वर थापा