जिल्ला अस्पतालमा एक महिनादेखि खानेपानीको अभाव

  ०७६ मङ्सिर २६ गते

बेसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पतालमा एक महिनादेखि खानेपानीको अभाव भएको छ ।

अस्पतालका व्यवस्थापक हेमन्त श्रेष्ठका अनुसार यो महिनाको चारपाँच दिन त पानीको हाहाकार नै भएको थियो ।

पानीको अभावले बिरामीहरुलाई समस्या परेको श्रेष्ठको भनाइ छ । अस्पतालमा हाल ज्वरो, रुघाखोकी, सुत्केरी, निमोनिया जस्ता बिरामीहरू, बालबालिका र ज्येष्ठ नागरिकहरू भर्ना भइ उपचार गराइरहेका श्रेष्ठले बताउनुभयो ।

अस्पतालका मेडिकल इञ्चार्ज शरन लिम्बुका अनुसार अस्पतालमा पानीको अभावले दुर्गन्ध फैलिएको छ । बेसीशहर नगरपालिका–३ निवासी सेवाग्राही रमेश रानाका अनुसार पानीको अभावले अस्पतालका शौचालय समेत दुर्गन्धित भएको बताउनुभयो ।

‘यस्तै हो भने बिरामी झन् बिरामी हुन्छन् । यो समस्याको समाधान चाँडो गर्नुपर्‍यो ।’–रानाले भन्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनार बेसीशहरको बजार क्षेत्रमा पटकपटक पानीको अभाव हुँदै आइरहेको बताउनुहुन्छ  ।

जनसङ्ख्या अनुसार खानेपानी पर्याप्त नहुँदा पानीको समस्या भएको सुनारको भनाइ छ । बेसीशहर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कृष्णमान प्रधानका अनुसार पानीको मुहान सुक्दै जाने र धाराको सङ्ख्या बढ्दै जानुले पानीको अभाव भएको हो ।

नगरपालिकासँग पटकपटक पानीको अभाव विषयमा छलफल गर्दा पनि केही नभएको प्रधानको गुनासो छ ।

खानेपानीको मुहान खोजेर पानीको विकल्प खोजिरहेको अध्यक्ष प्रधानको भनाइ छ । बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले अस्पतालको पानीको समस्यालाई समाधान गरिएको बताउनुभयो ।

अस्पताल प्रशासनले जानकारी गराएको समयमा नगरपालिकाबाट सहयोग भएको अर्यालले बताउनुभयो । पानीको लागि अब आउने बजेटमा सम्बोधन गर्ने नगर प्रमुख अर्यालले बताउनुभएको छ ।


दलबहादुर मजाकोटी