जिल्ला अस्पतालमा एक्सरे सेवा बन्द हुँदा बिरामी मर्कामा

  ०७६ मङ्सिर २ गते

संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।

तर, जिल्ला अस्पताल धनकुटामा कात्तिक पहिलो साता बिग्रिएको एक्सरे मेशिन नबनाउँदास्वास्थ्य सेवाग्राही सेवाबाट वञ्चित हुनु परेको छ ।

अस्पताल प्रशासनले सूचना टाँस गरेर सेवा अवरूद्घ भएको जनाएको छ । एक्सरे सेवा अवरूद्ध हुँदा एक्सरे सेवा लिनु पर्ने बिरामी महङ्गो शुल्कमा निजी क्लिनिक वा धरान जान बाध्य भएका छन् ।

छातिको एक्सरे गर्नु पर्ने बिरामी धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ का ३५ वर्षीय टेकबहादुर श्रेष्ठले एक्सरे सेवा नपाएपछि धरान जाने तयारीमा रहेको बताए । उनले भने–‘जिल्ला अस्पतालमा एक्सरे छ भनेर आएको बिग्रेको छ रे । अब धरान जान्छु ।’

धनकुटा नगरपालिका–२ भीरगाउँका ७३ वर्षीय हरिबहादुर थापाले भने–‘छातिको एक्सरे गर्न अस्पताल आएको एक्सरे भएको छैन । दैनिक अस्पताल आउने र जाने गरेको छु । स्वास्थ्यकर्मीले एक्सरे मेशिन बिग्रेको छ भन्छन् ।’

उनले थपे–‘धन भएकाहरू त बाहिरी जिल्ला गइसके आर्थिक अवस्था कमजोर भएका म जस्तै बिरामी अस्पतालको बाटो कुरेर बस्नु परेको छ ।’

जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर अमिताभ ठाकुरले एक्सरे मेशिनको ट्रान्सर्फमर पड्केर दुई सातायता सेवा प्रवाह बन्द भएको बताए ।

पुरानो मेशिन भएकाले पटकपटक बनाउन भन्दा केही दिनमा नयाँ मेशिन जडान गरी समस्याको दीर्घकालीन समाधान हुने उनले बताए ।

अस्पातलमा विभिन्न कारणले एक्सरे गराउन दैनिक २० जना देखि २५ जना बिरामी आउने गरेको बिरामी अभिलेख अभिलेखमा छ ।

photo20191118dhankuta (1)

photo20191118dhankuta (2)

photo20191118dhankuta (3)


ईश्वर थापा