जिल्ला अस्पतालको बहिरङ्ग सेवा डाक्टरविहीन, पोष्टमार्टम गर्न समेत सास्ती

  ०७६ असोज ९ गते

जिल्ला अस्पतालको बहिरङ्ग सेवा डाक्टर विहीन बनेको छ । डाक्टर नहुँदा शवको पोष्टमार्टम गर्न समेत बाधा पुगेको छ ।

५० शैयाको जिल्ला अस्पताल बिजुवारमा दरबन्दी अनुसार डाक्टर नहुँदा तथा भएका डाक्टरहरू पनि नेपाल सरकारको समायोजन कार्यक्रमले गर्दा एक महिनादेखि जिल्ला अस्पतालको बहिरङ्ग सेवा एचएको भरमा सञ्चालन भएको अस्पतालका व्यवस्थापक राजन घिमिरेले बताए ।

उनले अस्पतालमा भएका डाक्टरहरू पनि समायोजनले अन्यत्र गएका र यहाँ आउने डाक्टर नआएका कारण समस्या भएको बताए ।

जिल्ला अस्पतालमा दैनिक २ सय ५० जना भन्दा बढी बिरामी सेवा लिन आउने गरेको र अन्य स्वास्थ्य चौकीबाट केही दिनको लागि एचएहरूलाई काजमा राखेर सेवा दिएको अस्पताल प्रशासनले जनाएको छ  ।

अस्पतालबाट सेवा नपाएको सर्वसाधारणको गुनासो रहेको छ । प्यूठान नपा–३ की कल्पना खडकाले १२ वर्षीय छोरा हेमन्तको उपचारका लागि ११ बजे जिल्ला अस्पतालमा पुग्दा पनि अस्पतालले बिरामी पुर्जा नपाएको बताइन् ।

उनले जिल्ला अस्पतालबाट उपचार नपाएपछि नजिकैको क्लीनिकमा गएर महङ्गो शुल्क तिरेर उपचार गरेको गुनासो गरिन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले आफूले यस विषयमा प्रदेश र सङ्घमा जानकारी गराएको र समस्या समाधानका लागि प्रयास गरिरहेको बताए ।

जिल्ला अस्पतालमा सरकारी दरबन्दीका डाक्टर नहुँदा विभिन्न घटनामा परी मृत्यु भएकाहरूको शवको  पोस्टमार्टम गर्न पनि समस्या भएको छ ।

शवको पोष्टमार्टमका लागि जिल्लाको भिङ्ग्री प्रथामिक स्वास्थ्य केन्द्र पुग्न नगरिकलाई सास्ती भएको प्रमुख जिल्ला अधिकारीले बताए ।

जिल्ला अस्पतालको सेवा प्रवाहका सम्बन्धमा भदौ २९ गते इन्सेक, पत्रकार महासङ्घ, गैसस महासङ्घ लगायतले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र सहित ध्यानाकर्षण समेत गराएको थियो ।


रविन्द्र पाण्डे