जिल्लामा एम्बुलेन्स नहुँदा बिरामी मर्कामा, बोकेरै अस्पताल पुर्‍याउनु पर्ने समस्या

  ०७६ असोज २३ गते

जिल्लामा एउटा पनि एम्बुलेन्स नहुँदा आकस्मिक बिरामीलाई अस्पताल पुर्‍याउन समेत समस्या पर्ने गरेको छ । आकस्मिक बिरामी बोकेर अस्पताल पुर्‍याउँदा समयमा उपचार पाउन सकेका छैनन् । गाडी चल्ने ठाउँमा पनि  यात्रु गाडीको प्रयोग गरिन्छ  ।

जिल्लामा एम्बुलेन्स नहुँदा सुत्केरी व्यथा लागेका महिला तथा आकस्मिक जटिल खालका बिरामीलाई बोकेर स्वास्थ्य चौकीमा पुर्‍याउनु पर्ने बाध्यता रहेको पुथाउत्तरगङ्गा गापा‐१२ गोल्खाडाकी सीमाना पुनले बताइन् ।

‘बोकेर तथा यात्रु गाडीमै बिरामीलाई उपचारका लागि लग्नु पर्दा सयम र खर्च धेरै  लाग्दछ ।’–पुनले भनिन् । जसका कारणले बिरामीले समयमै उपचार पाउन सकिराखेका छैनन् भने भनेको समयमा यात्रु गाडी पनि नपाइने समस्याले उपचारमा बिरामीलाई सास्ती भइरहेको छ ।

जति नै सिकिस्त भए पनि अस्पताल पुर्‍याउन सामान्य गाडी प्रयोग गर्नुको विकल्प छैन । ०७४ असोज १९ गतेदेखि छुट्टै जिल्लाका रूपमा कामकाज थालेको रुकुम पुर्व हालसम्म पनि एम्बुलेन्सविहीन छ ।

जिल्लामा तीन ओटा स्थानीय तह छन् । भूमे र सिस्ने गाउँपालिकाले एम्बुलेन्स खरिदको तयारी गरे पनि पूर्ण हुन सकेको छैन ।

भूमे गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा मात्रै होइन, अघिल्लो आर्थिक वर्षमा पनि एम्बुलेन्स खरिदको तयारी गरेको थियो तर दुई वटै आर्थिक वर्षमा गाउँपालिकाले एम्बुलेन्स खरिद गर्न सकेन ।

सिस्ने गाउँपालिकाले गत आर्थिक वर्षमा एम्बुलेन्स खरिदका लागि सबै तयारी गरेको भएपनि खरिद प्रक्रिया पूरा हुन सकेन ।

एम्बुलेन्स खरिद प्रक्रिया अन्तिममा आएर रद्द भएको भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताए ।

पहिलो पटक टेण्डर आह्वान गर्दा टेण्डर नपरेका कारण खरिद प्रक्रिया रोकिएको थियो भने पछिल्लो वर्ष प्रदेश ५ सरकारले एम्बुलेन्स दिने भनेकाले खरिद प्रक्रिया रोकेको अधिकृत श्रेष्ठले जानकारी दिए ।

सिस्ने गाउँपालिकाले पनि आर्थिक वर्ष ०७५/७६ मा एम्बलेन्स खरिदका लागि थालेको प्रक्रिया रद्द गरेको थियो । प्रदेशबाट स्वास्थ्य कार्यालयमा एम्बुलेन्स आउने भएकाले खरिद प्रक्रिया रोकिएको गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले भनिन् ।

‘जिल्ला प्रशासन कार्यालयले कर छुटको सिफारिस नदिएका कारण एम्बुलेन्स किनेनौँ । अन्तिममा स्वास्थ्य कार्यालयबाट पनि एम्बुलेन्स आएन ।’–उनले भनिन् ।

एम्बुलेन्स नभएकाले जिल्लामा समस्या भइरहेको उनले बताइन् । जिल्लाको दुर्गम मानिएको पुथाउत्तरगङ्गा गाउँपालिकाले भने चालु आर्थिक वर्षमा एम्बुलेन्स खरिदको तयारी गरेको छ ।

एम्बुलेन्स खरिदका लागि बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढा क्षेत्रीले बताए । उनले कर छुटको पत्रका लागि प्रक्रिया अघि बढाइएको बताए ।


जयमान बुढा मगर