जिल्लामा उनान्चालिस जनाको परीक्षण रिपोर्ट नेगेटिभ

  ०७६ चैत ३० गते

कोरोना भाइरस आशङ्कामा स्वाब परीक्षणमा पठाइएका उदयपुरका थप २६ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । नेपाली सेनाको १८ नं. बाहिनी मातहतको रणशार्दूल गण बेलसोत क्याम्पको क्वारेन्टाइनमा राखिएका २६ जनाको रिपोर्ट चैत ३० नेगेटिभ आएसँगै स्वाब परीक्षणमा हालसम्म पठाइएका ३९ जनाकै रिर्पोट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीका अनुसार चैत २६ गते बेलसोतका चार महिलासहित २६ जनाको स्वाब सङ्कलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । यसअघि विदेशबाट आएका त्रियुगा नगरपालिकामा आठ जना, लिम्चुङ्गबुङ्ग गाउँपालिकाबाट चार जना र बेलका नगरपालिकाबाट एक जना गरी १३ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।

बिरामी सबैको नतिजा नेगेटिभ आएकाले हालसम्म जिल्लामा सङ्क्रमण देखा नपरेको प्रमुख सुवेदीले बताउनुभयो । स्वाब परीक्षण र प्रारम्भिक चरणको परीक्षण रिपोर्ट दुवैलाई मिलाउँदा हालसम्म ६१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

चैत २९ गते मात्र २२ जनाको र्यापिड डाइनोस्टिक टेस्ट (आरडिटी) किट मार्फत रगत परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको हो । तर र्यापिड टेस्टमा कहिले कहीँ फरक पनि आउने भएकाले २२ जना मध्ये केहीलाई पुनः स्वाब परीक्षण गरिने बताउनुभयो ।

आरडिटी किट जिल्लामा उपलब्ध भएपछि स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमै पुगेर परीक्षण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो ।

टोलीले रौतामाई गाउँपालिकाको मुर्कुचीका चार जना, आँपटारका चार जना, चौदण्डीगढी गाँउपालिकाका ६ जना र त्रियुगा नगरपालिकाको मोतीगडाका आठ जना गरी २२ जनाको रगत परीक्षण गरेको थियो ।


भरत खड्का