जिल्लामा अठार जनाको परीक्षण रिपोर्ट नेगेटिभ

  ०७६ चैत २९ गते

कोरोना भाइरसको प्रारम्भिक चरणको परीक्षण रिर्पोटमा उदयपुरका थप १८ जनाको स्वास्थ्य रिर्पोट चैत २९ गते नेगेटिभ आएको छ । यससँगै जिल्लामा आशङ्का गरिएका मध्ये ३१ जनाको रिर्पोट नेगेटिभ देखिएको हो ।

र्यापिड डाईनोस्टिक टेस्ट (आरडिटी) किट मार्फत रगत परीक्षण गर्दा पछिल्लो १८ जनाको रिर्पोट नेगेटिभ देखापरेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।  आरडिटी किट जिल्लामा उपलब्ध भएपछि स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमै पुगेर परीक्षण गर्दा यस्तो रिर्पोट आएको उहाँले बताउनुभयो ।

टोलीले रौतामाई गाउँपालिकाको मुर्कुचीका चार जना, चौदण्डीगढी नगरपालिकाको हडियाका ६ जना र त्रियुगा नगरपालिकाको मोतीगडाका आठ जना गरी १८ जनाको रगत परीक्षण गरिएको थियो । आरडिटी किटबाट रक्त परीक्षण गरेको १५ मिनेट भित्रै रिपोर्ट आईसक्ने प्रविधि भएकाले परीक्षण कार्य सहज र सरल रहेको उहाँले बताउनुभयो ।

‘यो प्रविधिबाट रगत परीक्षण गरेको १५ मिनेटमै रिपोर्ट आउँदो रहेछ,’ सुवेदीले भन्नुभयो, ‘त्यसैले केही दिनभित्रै स्वास्थ्यकर्मी टोली जिल्लाका सबै क्वारेन्टाइनमा परिचालन गरी परीक्षण गरिसक्ने योजना बनाउँदैछौं ।’ आरडिटी किटमार्फत परीक्षण गरिएपनि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने र त्यसपछि घर पठाएर होम क्वारेन्टाइनमा थप सात दिन बस्नु पर्ने सुवेदीले बताउनुभयो ।

आरडिटी प्रविधिबाट कोरोना परीक्षण गरिएका मध्ये पुनः १० प्रतिशतको स्वाब परीक्षण गर्नु पर्ने जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलले बताउनुभयो । उहाँले आरडिटी किटबाट रगतमा कोरोना पोजेटिभ देखिएमा अर्को चरणको परीक्षण ‘स्वाब टेस्ट’ गर्नुपर्ने बताउनुभयो । ‘आरडिटी गर्दा र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ देखिएमा उसलाई होम क्वारेन्टाइनमा पठाईन्छ,। उहाँले भन्नुभयो, ‘तर,जसको रिपोर्ट पोजेटिभ देखिन्छ, त्यस्तालाई क्वारेन्टाइनमै राखेर स्वाब परीक्षण गर्नुपर्छ ।

यसअघि उदयपुरको त्रियुगा नगरपालिकाका आठ जना, लिम्चुङबुङ गाउँपालिकाका चार जना र बेलका नगरपालिकाको एक जना गरी १३ जनाको स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएको छ । जिल्लामा हालसम्म ६७ जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण कार्य भईरहेको छ ।

 


भरत खड्का