जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा तीन महिनादेखि औषधिको अभाव

  ०७४ चैत २८ गते

समयसमयमा औषधिको अभाव भइरहने हुम्लाका अधिकांश स्वास्थ्य चौकीमा सरकारले निशुल्क रूपमा वितरण गर्ने औषधि तीन महिनादेखि अभाव भएको छ ।

हुम्लाका अधिकांश स्वास्थ्य संस्थामा ०७४ पुस महिनादेखि सामान्य सिटामोलसमेत नभएपछि बिरामीहरू रित्तो हात घर फर्कन बाध्य भएका छन् । स्थानीय सरकारका रूपमा रहेका गाँउपालिका तथा वडा कार्यालयले वार्षिक योजनामा विनियोजन गरेको बजेटबाट समयमा औषधि खरिद नगर्दा स्वास्थ्य चौकीमा औषधिको अभाव भएको हो ।

रूघाखोकी तथा ज्वरो आएपछि स्वास्थ्य चौकीमा जचाउन पुगेका सदरमुकाम सिमकोटदेखि चार दिन पैदल बाटो रहेको ताँजाकोट गाँउपालिका-३ मासपुरका जोख्या बुढाले औषधि नपाएको गुनासो गरे ।

ताँजाकोट गाउँपालिकाको स्वास्थ्य चौकीमा सिटामोलसमेत नभएपछि ठुलो आशा लिएर स्वास्थ्य चौकीमा जाँदै गरेका बुढा निरास हुँदै 'गरिबका दिन यस्तै रहेछन्' भन्दै दुखेसो पोखे । खल्तीमा रुपियाँपैसा पनि नबोकेका बुढाले भने-'सरकारले निशुल्क औषधि दिन्छ भन्ने सुनेको थिएँ । तर, त्यो सबै झुठा रहेछ ।'

यस्तै गुनासो अदानचुली गाउँपालिका-२ का दिपबहादुर रोकायाको पनि रहेको छ । स्वास्थ्य चौकीमा भवन, स्वास्थ्यकर्मी छन्, तर सरकारले निशुल्क रूपमा उपलब्ध गराउने ४२ प्रकारका औषधि मध्ये कुनै पनि औषधि छैनन् । अहिले गर्मीको समय भएकाले रूघाखोकी तथा सिजनल फ्लूका बिरामी दिन प्रतिदिन बढ्दै गएपनि हालसम्म गाँउपालिका र वडा कार्यालयले औषधि खरिद प्रकृया अगाडि नबढाउँदा बिरामीलाई सास्ती भएको स्थानीयले आरोप लगाएका छन् ।

सर्केगार्ड गाँउपालिकाका आठ ओटै वडाले १/१ लाख रुपियाँ बजेट औषधि खरिदका लागि विनियोजन गरेको भएपनि चैत २८ गतेसम्म कुनैले पनि खरिद प्रकृया अगाडि नबढाएको सो गाउँपालिकाका स्वास्थ्य इञ्चार्ज सन्तोष धामीले बताए । अझ एक वडाले त औषधि खरिदका लागि विनियोजन बजेट कार्यालय सहयोगी राख्नमा खर्च गरेको इञ्चार्ज धामीको भनाइ छ ।

गाउँपालिकाभरी ६ वटा स्वास्थ्य चौकी र दुई वटा सामुदायिक स्वास्थ्य क्लिनिक भए पनि कुनै स्वास्थ्य संस्थामा मेट्रो र सिटामोलसम्म नभएकाले यहाँ आउने बिरामीको बिजोग हुने गरेको र रित्तै हात फर्काउनु पर्ने बाध्यता रहेको इञ्चार्ज धामीले बताए । गाउँपालिकाले औषधि खरिदका लागि ८ लाख रुपियाँ बजेट छुट्याएको र औषधि खरिद प्रकृया सुरू भएर मुगुसम्म आएको गाउँपालिकाले जनायो ।

झाडापखाला लागेर स्वास्थ्य चौकीमा जाँदा जीवनजल पनि नपाएको चङ्खेली गाँउपालिका-४ का पदम सिंहले गुनासो गरेका छन् । सो गाँउपालिकामा पनि चैत २८ गतेसम्म वडा कार्यालयले विनियोजन गरेको रकमबाट औषधि खरिद नगरेको र गाउँपालिकाले प्रकृया अगाडि बढाएको भएपनि ढुवानी भएर आइनसकेको चङ्खेली गाउँपालिकाको कार्यालयले जनाएको छ ।

हुम्लामा २६ वटा स्वास्थ्य चौकी, आठ वटा सामुदायिक स्वास्थ्य क्लिनिक र एउटा जिल्ला अस्पताल रहेको जिल्ला अस्पतालका डक्टर रञ्जितकुमार यादवले बताए ।

जिल्लाले खरिद गर्ने औषधि सबै खरिद भएर आइसकेको र सो औषधि एकदेखि तीन चरणसम्म स्वास्थ्य चौकीलाई वितरण गरिएको भएपनि त्यो पर्याप्त नभएको उनले बताए । केन्द्रवाट आउने ७० प्रतिशत औषधि हालसम्म नआएको र क्षेत्रको केही आएपनि बाँकी नआएको जिल्ला अस्पतालले जनाएको छ । यसको बढी जिम्मेवारी स्थानीय सरकारले लिनु पर्ने तर्क डक्टर यादवको छ ।


नन्द सिंह