जातीय विभेद घटनाका आरोपित गिरफ्तार

  ०७३ माघ २४ गते

बेताली गाविस-३ का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिरभित्र प्रवेश गर्दा ५ हजार रुपियाँ जरिबाना गरेको आरोपमा प्रहरीले सोही ठाउँका पुजारी ४० वर्षीय छत्रबहादुर बुढाथोकी र ५० वर्षीय भीमबहादुर बुढाथोकीलाई माघ २४ गते गिरफ्तार गरेको छ ।

पीडितले मन्दिर जस्तो पवित्र ठाउँमा आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरी चौकी बेतालीमा माघ २३ गते उजुरी दिएका थिए ।

बेताली गाविस-३ स्थित सेरकाली मन्दिरभित्र माघ २२ गते प्रवेश गरेर पुजा गर्ने क्रममा विश्वकर्मामाथि दलितले मन्दिर प्रवेश गरेको भन्दै पुजारीले मन्दिर चोख्याउन ५ हजार रुपियाँ जरिबाना गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी कुमुद ढुङ्गेलले आरोपित पुजारीद्वयलाई कानुन अनुसार कारबाही गरिने बताए ।


नवराज पथिक