जातीय विभेद घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक २६ गते

उर्लाबारी नगरपालिका–४ की ३० वर्षीया कोपिला बर्देवालाई ससुराको अन्तिम संस्कारमा सहभागी हुनबाट वञ्चित गराएको आरोपमा प्रहरीले दुई जनालाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।

७० वर्षीय सुसराको कात्तिक १३ गते मृत्यु भएपछि अन्तिम संस्कारमा सहभागी हुने क्रममा पतिसहित परिवारका सदस्यले काजक्रियामा सहभागी हुनबाट वञ्चित गराएको आरोपमा पीडितले परिवारका ६ जना सदस्यविरूद्ध जातीय विभेद गरेको आरोपमा कात्तिक २३ गते इलाका प्रहरी कार्यालय उर्लावारीमा उजुरी दिनु भएको थियो ।

पानी नचल्ने जातको भएको भन्दै अन्त्येष्टीको संस्कारमा सहभागी हुन नदिएपछि पीडितले ५५ वर्षीया सासु सुनिता गहतराज, ३६ वर्षीय पति दिवश, ४० वर्षीय जेठाजु दीपक र ३८ वर्षीय शम्भु, ३२ वर्षीया जेठानी तारा गहतराज र २५ वर्षीया आफन्त शारदा घतानीविरूद्ध किटानी जाहेरी दिएको पीडितले बताउनु भयो ।

उहाँले ससुराको काजकिरिया र अत्येष्टीमा सहभागी हुने क्रममा परिवारका सदस्यले तल्लो जातको भन्दै धकेलेर घाटबाट अन्यत्र पठाएको बताउनु भयो ।

नेपालको संविधान २०७२ बमोजिम जातीय विभेद, छुवाछूत तथा कसुर र सजाय ऐन २०६८ को उल्लङ्घन भएकाले परिवारका सदस्यलाई कानुन बमोजिम कारबाही माग गर्दै प्रहरीमा उजुरी दिएको पीडितले बताउनु भयो ।

पीडित पक्षको उजुरीपछि प्रहरीले घटनाका आरोपितमध्ये दुई जनालाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय उर्लावारीमा उद्धव पोखरेलेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । घटनाका अन्य आरोपित फरार रहेकाले खोजी भईरहेको पाखरेलले बताउनु भयो ।

आरोपित परिवारले कात्तिक २१ गते विज्ञप्ति जारी गर्दै जातीय विभेद गरेको घटनाको खण्डन गरेको छ । आरोपित परिवारले आफूहरूले कोपिला बर्देवालाई अन्त्येष्टीको संस्कारमा सहभागी हुन अवरोध नगरेको र कोपिला आँफलै छुट्टै बसेर काजक्रिया गर्ने भनेकाले पारिवारिक सल्लाह बमोजिम छुट्टाछुट्टै बसेर काजक्रिया गरिएको उल्लेख छ ।

दलित अधिकारकर्मी तिलक नेपालीले पारिवारिक सल्लाह अनुसार छुट्टै बसेर काजक्रिया गरेपनि कोपिला बर्देवा जातीय विभेदमा परेका कारण पीडितले न्याय पाउन अधिकारकर्मीले अभियान चलाएको बताउनु भयो ।


नेत्रप्रसाद अधिकारी