जातीय विभेद घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ १ गते

सोलुदूधकुण्ड नगरपालिका–११ का २८ वर्षीय मिनबहादुर नेपालीलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले सोही ठाँउकी ३१ वर्षीया सङ्गीता राईलाई वैशाख ३१ गते गिरफ्तार गरेको छ ।

वैशाख २७ गते हिडिँरहेको अवस्थामा आरोपितले तल्लो जातको भएर सार्वजनिक यातायातको अघि–अघि हिँड्छ भन्दै आफूमाथि ढुङ्गा हानेको भन्दै पीडितले वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

सोही उजुरीमाथि कारबाही गर्दै अदालतले वैशाख ३१ गते आरोपितलाई गिरफ्तार गर्न आदेश दिएपछि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले बताउनुभयो ।

मिनबहादुरको जाहेरीमा ‘सार्वजनिक बाटोमा मेरो अगाडी हिड्छस्, तँ दमाई, भनेर ढुंगाले हिर्काउदै लखेटेको’उल्लेख गरिएको छ ।

नेपालको संविधान ०७३ को भाग ३ को धारा २४ मा  छुवाछुत तथा भेदभाव विरूद्धको हकबारे प्रष्ट उल्लेख गरिएको छ ।


भोजराज कार्की