जातीय विभेद घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक १४ गते

ठुलीभेरी नपा–८ जुफाल बस्ने ४१ वर्षीया धना नेपाली र ३५ वर्षीया लक्ष्मी नेपालीलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले ठुलीभेरी नपा–७ जुफाल विमानस्थल बस्ने ४२ वर्षीय कर्ण खत्रीलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ ।

पीडितद्वयलाई आरोपितले कात्तिक १३ गते जातीय विभेद गरेको भन्दै कात्तिक १३ गते नै प्रहरी चौकी, जुफालमा पीडित पक्षले उजुरी दिएको थियो ।

दैसीभैलोको पिकनिक खाएर जुफालसेरा भन्ने ठाउँबाट घरतर्फ फर्कँदै गर्दा बाटोमा भेटिएका आरोपितले ‘तिमीहरू डुमले मलाई नछोउ मसँग घरमा लग्ने खानेकुरा पुलाउ छ छोइन्छ । छोएको मेरो आमाले खानुहुन्न ।’ भन्दै दुर्व्यवहार गरेको पीडित पक्षले दिएको निवेदनमा उल्लेख भएको प्रहरीले जनाएको छ ।

पीडितहरूको उजुरीपछि आरोपितलाई गिरफ्तार गरेर हाल अनुसन्धानका लागि प्रहरी चौकी, जुफालमा राखिएको जुफाल विमानस्थल प्रहरी चौकीका सई कमल शाहले जानकारी दिए ।

आरोपित खत्रीले भने आफूले मदिरासेवन गरेकाले आफ्नै धुनमा हिँडिरहेका बेला ठोक्किँदा साथमा ल्याएको खानेकुरा पोखिएको र पीडितद्वयलाई गाली गर्दा दुर्व्यवहारको आरोप लगाएको बताए ।


विष्णुप्रसाद देवकोटा