जातीय विभेद गरी कुटपिट गरेको आरोपमा वडा सदस्य गिरफ्तार

  ०७६ कात्तिक ७ गते

तिनाउँ गाउँपालिका-६ मस्यामका ५१ वर्षीय मनविर नेपालीलाई जातीय विभेद गरी कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४४ वर्षीय चुन्नबहादुर बिष्टलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । आरोपित बिष्ट तिनाउँ गाउँपालिका वडा नं. ६ का वडा सदस्य समेत हुन् ।

नेपालीलाई बिष्टले कात्तिक ३ गते बिहान कुटपिट गरेको भन्दै पीडितले कात्तिक ४ गते प्रहरीमा उजुरी दिएका थिए । कुटपिटबाट नेपालीको दाहिने आँखामा निलडाम हुनुका साथै सुन्निएको पनि छ ।

अनुहारमा सानासाना चोट लागेको छ । वडा सदस्य विष्टको घरको गारोमा प्लास्टर गरिदिएको ज्यालाको हिसाबसहित आफूले पाउनुपर्ने रकम माग्दा आफूलाई कुटपिट गरेको पीडित नेपालीले बताए ।

गत माघ महिनामा १२ हजारमा वडा सदस्य बिष्टको घरको गारोमा प्लाष्टर गर्नका लागि विष्ट र नेपालीबीच मौखिक सम्झौता भएको थियो । नेपालीले समयमै काम सम्पन्न गरेका थिए ।

तर, ज्यालाको रकम भने आफूले अहिलेसम्म नपाएको उनले गुनासो गरे । आइतबार बिहान हिसाब गर्न बिष्टको घरमा जाने क्रममा नेपाली र विष्टबीच बाटोमा भेट भएको थिया ।

नेपालीले भने-'मैले कामको ज्याला माग्दा उहाँले एक्कासी जातीय विभेद गर्ने शब्द प्रयोग गर्दै गाली गर्नुभयो । के को हिसाब, मलाई चिनेको छस् ? म को हुँ ? भन्दै मलाई मुक्का र लात्तिले हान्नुभयो । त्यसपछि प्रहरीलाई भनौँ भन्दै उल्टै धम्कीसमेत दिनुभयो ।'

आरोपित बिष्टले आफूले उनलाई कुटेको स्वीकार गरेका छन् । नेपालीले आफूलाई हात हालेको र आफूले प्रतिकार गर्दै रिसको झोकमा जातीय विभेद हुने भाषा प्रयोग गरी ४-५ थप्पड गालामा हानेको उनले बताए ।

उनले भने-'मैले उनलाई काम बापतको पैसा तिरिसकेको छु । उनले मादक पदार्थ सेवन गरेर झगडा गर्न आउँदा समस्या भएको हो ।'

बिष्ट कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्स्पेक्टर देवराज पौडेलले आरोपितलाई तत्काल प्रहरी कार्यालयमा ल्याई घटनाबारे सत्यतथ्य अनुसन्धान गरिने बताए ।

आरोपित विष्ट बिरुद्ध जातीय छुवाछुत तथा विभेद विरुद्धको उजुरी दर्ता गरिएको छ । पीडित नेपालीको उपचार कात्तिक ४ गते जिल्ला अस्पताल पाल्पामा गरिएको छ ।


यज्ञमूर्ति तिमिल्सिना