जातीय विभेदको घटनामा मिलापत्र 

  ०७६ जेठ २७ गते

त्रिपुरासुन्दरी नपा-१ त्रिपुराकोटका धनमाल सार्कीलाई जातीय विभेद गरेको आरोपमा सोही ठाउँका ४५ वर्षीय इमानसिंह कठायतविरूद्ध उजुरी गरेका पीडितले जेठ २६ गते निवेदन फिर्ता लिएर मिलापत्र गरेका छन् ।

जातीय विभेदसम्बन्धी यो घटनामा राजनीतिक दलका कार्यकर्ताको दबाबमा मिलापत्र गरिएको जनाइएको छ ।

आरोपित कठायत जेठ २३ गते बिहान त्रिपुरासुन्दरी नपा-१ स्थित सार्की टोलमा रोपाईको लागि हली भन्न धनमल सार्कीको घरमा पुगेका बेला कठायतले सार्कीलाई अपशब्द बोलेको भन्दै पीडितले सोही दिन प्रहरीमा उजुरी दिएका थिए ।

उजुरी पश्चात् आरोपित कठायतलाई जातीय विभेद गरेको आरोपमा प्रहरी चौकी त्रिपुराकोटले जेठ २३ गते बिहानै गिरफ्तार गरेको थियो ।

गिरफ्तारपछि सोही दिन रिहा भएका कठायतलाई तीन दिनपछि त्रिपुरासुन्दरी नपा-१ का कार्यपालिका सदस्य तथा तत्कालिन एमालेका जिल्ला उपाध्यक्ष तुलाचन्द्र बुढा र नेपाली कांग्रेसका पुर्व सभापति टङ्कप्रसाद उपाध्यायलगायतका उपस्थितिमा छलफल गराइएको थियो ।

स्थानीय नेताहरूसँग भएको छलफलमा दुवै पक्षबीच मौखिक सहमति भई मिलापत्र भएको प्रहरी चौकी त्रिपुराकोटका सई टेकबहादुर देउवाले जानकारी दिए ।

'आफ्नै गाउँघरमा मिल्छौँ निवेदन फिर्ता पाउँ' भनेर जेठ २६ गते दुवै पक्ष आएर निवेदन फिर्ता लगेको सई देउवाले बताए ।

जातीय विभेद विरूद्धका अभियन्ता लिला टमाटाले समाजमा चेतनाको विकास हुन बाँकी नै रहेकाले जातीय विभेदका अधिकांश घटना मिलापत्रमा टुङ्गिने गरेको बताए ।


विष्णुप्रसाद देवकोटा