जातीय विभेदको घटनामा मिलापत्र !

  ०७६ कात्तिक २७ गते

जुरी परेको १४ दिनपछि कात्तिक २६ गते राजनीतिक दबाबमा जातीय विभेदको घटना मिलापत्रमा टुङ्गिएको पीडितहरूले बताएका छन् ।

ठुलीभेरी नपा–८ जुफालकी ४१ वर्षीया धना नेपाली र ३५ वर्षीया लक्ष्मी नेपालीलाई ठुलीभेरी नपा–७ जुफाल विमानस्थलमा बस्ने ४२ वर्षीय कर्ण खत्रीले कात्तिक १३ गते जातीय विभेद गरेको भन्दै सोही दिन जुफालस्थित विमानस्थल सुरक्षा चौकीमा पीडितद्वयले उजुरी दिएका थिए ।

देउसीभैलोको पिकनिक खाएर जुफालसेरा भन्ने ठाउँबाट घरतर्फ फर्कँदै गर्दा बाटोमा भेटिएका खत्रीले ‘तिमी डुमहरूले मलाई नछोउ मसँग घरमा लाने खानेकुरा पुलाउ छ छोइन्छ, छोएको मेरो आमाले खानुहुन्न’ भन्दै विभेदजन्य भाषा प्रयोग गरेको भनी पीडितद्वयले प्रहरीमा उजुरी दिएका थिए ।

पीडितहरूको उजुरीपछि प्रहरीले आरोपितलाई कात्तिक १४ गते बिहान गिरफ्तार गरेर चौकीमा राखेको भएपनि वडा नम्बर ७ र ८ का अध्यक्ष हरिप्रसाद डाँगी र डिलविक्रम शाहीले प्रहरी चौकीका सई कमल शाहलाई दबाब दिएर आपूmहरूले मुद्दा मिलाउने भन्दै आरोपितलाई आफ्नो जिम्मामा लगेका थिए ।

नेकपाका समर्थक अध्यक्षद्वयले मुद्दा मिलाई दिने बताएका भएपनि छलफल ढिला गराएकाले पीडितद्वयले कात्तिक २५ गते पुनः जुफाल चौकीमा उजुरी दिएका थिए ।

छलफलमा आरोपितले पीडितद्वयलाई जनही १५ हजार रुपियाँका दरले क्षतिपुर्ति दिएर गाउँघरमै मिलेर बस्नुपर्छ भनेपछि मिलापत्र गरेको पीडित धना नेपालीले बताइन् ।

जुफाल विमानस्थल प्रहरी चौकीका सई कमल शाहले लामोसमयसम्म छलफल तथा मिलापत्र नभएर पीडितहरू पुनः चौकी आएकाले आफूले जिल्लामा पठाइदिने बताएपनि ठुलीभेरी नगरपालिकाका मेयर गणेश शाही, वडा अध्यक्ष लगायतले मिलापत्र गर्न भनेपछि मिलापत्र भएको बताए ।


विष्णुप्रसाद देवकोटा