जातीय विभेदको घटनामा मिलापत्रका लागि दबाब आएको पीडित पक्षको आरोप

  ०७६ साउन १५ गते

नारायण नपा-१० भवानीकी ३५ वर्षीया लक्षीमा कामीलाई सोही ठाउँ बस्ने २४ वर्षीया राजकुमारी न्यौपानेले गत वैशाख ११ गते जातीय विभेद गरेको भन्दै पीडित पक्षले प्रहरीमा वैशाख १२ गते उजुरी दिएको थियो ।

सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोएको भन्दै आरोपित राजकुमारीले हँसिया प्रहार गरी सख्त घाइते बनाएको घटनामा अहिले जनप्रतिनिधि र आरोपितका आफन्तले मेलमिलाप गर्न दबाब दिएको पीडित पक्षको आरोप छ ।

घटनापछि उजुरी दर्ता गराउन जाँदा नै नारायण नपा-१० का वडाध्यक्ष लोकबहादुर थापाले उजुरी रोक्ने प्रयास गरेको पीडित पक्षको आरोप छ ।

प्रहरीमा उजुरी दर्ता भए लगत्तै फरार भएकी आरोपित राजकुमारीलाई 'कैद हुने अवस्था नगराइदेऊ बरू खर्च तिरौँला, मिल्नुपर्छ' भनी दबाब दिएको पीडितकी देवरानी पवित्रा सुनारले बताइन् ।

घटनापछि आरोपित न्यौपाने फरार रहेकाले जिल्ला प्रहरी कार्यालय, दैलेखले मुद्दा अदालतमा बुझाउने तयारी गरेको अवस्थामा घटनाका साक्षीलाई जिल्ला प्रहरी कार्यालय, दैलेखले असार १४ गते बयान लिन बोलाउने क्रममा साक्षीलाई विभेद भएको होइन भनीदिनु भनी वडाध्यक्ष थापा र नेकपाका नेता लोमन शर्माले 'समाजमा मिलेर बस्नुपर्छ सजिलो पारेर बयान गर' भनेको पीडित लक्षीमा कामीले बताइन् ।

पीडित पक्षको भनाईका बारेमा वडाध्यक्ष थापा र नेकपाका जिल्ला नेता शर्मालाई सोध्दा राजकुमारीका आफन्तले एक पटक पीडितसँग कुरा गरिदिनुपर्‍यो भनेर आग्रह गरेको कारण बसालेर छलफल मात्रै गराएको बताए ।

'प्रयास गरौँ न त भनेर सोधेको मात्र हो ।'-शर्माले भने । वडाध्यक्ष थापाले पीडित लक्षीमालाई '५ हजार रुपियाँ पर्ने सोलार वडा कार्यालयले निःशुल्क दिने' सल्लाह भएको सुनाए ।

घटनामा आरोपित पक्षले हँसियाले टाउको, छाति, ढाडमा प्रहार गर्दा पीडित घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल, दैलेख लगिएकोमा सो अस्पतालले कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा रिफर गरेको थियो ।

आर्थिक अवस्था दयनीय रहेको पीडितको उपचारमा गाउँबाट ऋण काढेर अहिलेसम्म ५१ हजार रुपियाँ भन्दा बढी खर्च गरिसकेको पीडितकी देवरानी पवित्रा सुनारले बताइन् ।


अमर सुनार