जातीय विभेदका आरोपित गिरफ्तार

  ०७६ साउन ३२ गते

चार महिना अघि भएको जातीय विभेद मुद्दाकी आरोपित दैलेखको नारायण नपा–१० भवानीकी २५ वर्षीय राजकुमारी न्यौपानेलाई प्रहरीले गिरफ्तार गरेको छ ।

सुर्खेतमा आफन्तकोमा लुकीछिपी बसेको सुराकको आधारमा दैलेखबाट गएको प्रहरी टोलीले साउन ३२ गते बिहान गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

गएको वैशाख ११ गते न्यौपानेले स्थानीय लछिमा कामीलाई रावतडाँडा सार्वजनिक धारामा पानी भरेको ड्रम छोइएको भनेर कुटपिट गरेको घटनामा वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा जातीय विभेदको उजुरी दर्ता भएको थियो ।

घटनामा भएको कुटपिटको चोट निको पार्न दैलेख जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज मेडिकल कलेजमा एक साता थप उपचार गरी पीडित लक्षिमा कामी फर्किएकी थिइन् ।

आरोपित फरार भएको अवस्थामा प्रहरीले घटनाका आरोपित, साक्षी र पीडितहरूलाई ‘विभेद भएको होइन’ भनेर साउन १४ गते बयान बदल्न वडाध्यक्ष लोकबहादुर थापा र नेता लोमन शर्माले दबाब दिएको विषयले घटना चर्चामा आएको थियो ।


अमर सुनार