जातीय छुवाछुत गरेको घटनाका आरोपित गिरफ्तार

  ०७६ चैत ९ गते

नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष दलबहादुर विश्वकर्मामाथि जातीय छुवाछुत गरी कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका दलबहादुर बुढालाई चैत ९ गते गिरफ्तार गरेको छ ।

आफूलाई बुढाले फागुन २९ गते वडा कार्यालयमा जातीय छुवाछुत गरी कुटपिट गरेको भन्दै पीडितले चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले बताउनु भयो ।

नेपालको संबिधान २०७२ को भाग ३, धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्वको मौलिक हकमा जातीय भेदभाव विरुद्ध दण्डनीय व्यवस्था गरेको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

पछिल्लो समयमा जनप्रतिनिधि नै जातीय छुवाछुतको सिकार भइरहनुभएको छ । कालीकोट जिल्लामा फागुन र चैत महिनामा २ वटा जातीय छुवाछुतका घटना घटनामा जनप्रतिनिधि दलित पीडित हुनुभएको छ ।


कालीवहादुर मल्ल