जातीय आधारमा एक दम्पतीलाई बाबुको काजक्रिया गर्न सामाजिक बन्देज

  ०७६ साउन २७ गते

नेपालको संविधान २०७२, को धारा २४ मा छुवाछूत तथा भेदभावविरूद्घको हकको व्यवस्था गरिएको छ ।

सोही धाराको उपधारा ३ मा उत्पत्ति, जातजाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, जातजाति वा छुवाछुतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछुत तथा जातीय उच्चता वा घृणामा आधारित विचार प्रचारप्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न नपाइने व्यवस्था छ ।

सोही धाराको उपधारा ५ मा प्रतिकूल हुने गरी भएका सबै प्रकारका छुवाछुत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने व्यवस्था गरिएको छ ।

तर, पाख्रीवास नगरपालिका-७ थाक्लेका एक दम्पतीलाई भने बाबुको काजक्रिया गर्नबाट समाजले बर्जित गरेको छ ।

८८ वर्षीय बाबुको मृत्युपश्चात काजक्रिया गर्न चार जना छोरामध्ये कान्छो छोरा मुकुन्द सुवेदीले अन्तरजातीय (दलित महिलासँग) विवाह गरेको भन्दै समाजले काजक्रिया गर्न बन्देज लगाएको हो ।

साउन २२ गते बाबुको मृत्यु भएको खबर दाजुभाइले दिएपनि सद्गदका विषयमा कुनै जानकारी र सल्लाह नगरेको पीडित मुकुन्दको भनाई छ ।

घर पुगेर काजक्रिया गर्ने क्रममा समाज र दाजुभाईले अन्तरजातीय विवाह गरेका कारण सामूहिक रूपमा काजक्रिया गर्न नसकिने भन्दै अलग्याएर काजक्रिया गर्न थालेपछि आफू आफ्नो कोठा धनकुटामा फर्किएको पीडितले बताए ।

०५३ सालमा मुकुन्दले मैया रसाईलीसँग विवाह गरेका थिए । ०६१ सालमा सुवेदी परिवारले स्वीकार गरी घर बोलाएपछि कुनै प्रकारको विभेद नगरेको मैया रसाईलीले बताइन् ।

तर, बाबुको काजक्रिया गर्ने बेलामा समाजले बर्जित गरेपछि आफूहरू कानुनी प्रक्रियामा जाने तयारी गरेको रसाईलीले बताइन् । उनी आधारभूत विद्यालयकी शिक्षिक हुन् ।


इश्वर थापा