जातीय विभेद घटनाका आरोपितलाई गिरफ्तार गर्न माग गर्दै प्रशासन र प्रहरीमा ध्यानाकर्षण

  ०७७ असार १५ गते

सोलुदूधकुण्ड नगरपालिका–९ का १६ वर्षीय बालक दीपक विश्वकर्मालाई निर्माणाधीन घरको दैलो छोएर अशुभको सङ्केत गरेको भन्दै कुटपिट गर्नेलाई तत्काल गिरफ्तार गर्न माग गर्दै अधिकारकर्मीहरू ध्यानाकर्षणपत्र बुझाएका छन् ।

जेठ ३१ गते जातीय विभेदसहित कुटपिट गरेको आरोपमा दलित अधिकारकर्मीहरूले असार १४ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउँदै घटनामा संलग्नलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् ।

दलित अधिकारकर्मीहरूले १६ वर्षीय बालकलाई जातीय विभेद गरेको आरोपमा सोलुदूधकुण्ड नगरपालिका–९ का २७ वर्षीय श्याम थापा मगर र ३१ वर्षीय तारा थापा मगरलाई तत्काल गिरफ्तार गर्न माग गर्दै प्रशासनमा ध्यानाकर्षणपत्र बुझाएको अधिकारकर्मी विनोद कालीकोटेले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनुभयो ।

आरोपितद्वय विरूद्ध इन्सेक प्रतिनिधिको पहलमा असार ७ गते जिल्ला प्रहरी कार्यालयमा जातीय विभेद शीर्षकमा उजुरी दर्ता भएपनि आरोपितद्वय गिरफ्तार नभएकाले न्यायका लागि आवाज उठाएको पूर्णबहादुर विश्वकर्माले बताउनुभयो ।

ध्यानाकर्षणपत्र बुझेपछि सिडिओ रमा आचार्यले आफू जातीय विभेद विरूद्धकै अभियानमा रहेकाले आरोपितलाई गिरफ्तार गर्न सहजीकरण गर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकुनन्द इवा लिम्बूले किटानी जाहेरीको आधारमा आरोपितद्वयको खोजी कार्य जारी भएपनि गिरफ्तार गर्न नसकिएको बताउनुभयो ।

अधिकारकर्मीले ध्यानकर्षणपत्र बोधार्थ इन्सेक सोलुखुम्बुलाई समेत दिएका छन् । इन्सेक सोलुखुम्बुको सहयोगमा नै आरोपितद्वय विरूद्ध जातीय विभेद शीर्षकमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो ।

घटनाका आरोपित श्याम थापा मगरले भने आफूले दीपकलाई एक थप्पड हिर्काए पनि जातीय हिसाबले गालीगलौच नगरेको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो । थापा मगरले बालकले चुरोट पिएको देखेपछि विद्यार्थी कुलतमा फस्नु हुँदैन भनि सम्झाएको बताउनुभयो ।

घटनाका आरोपित र पीडित पक्षबीच असार १ गते पत्ताले प्रहरी चौकीमा २० हजार तीन सय रुपियाँ उपचार र यात्राखर्च लिने गरी मिलापत्र भएको श्याम थापा मगरले बताउनुभयो । पीडित बालकका बाबु नीरबहादुर विश्वकर्माले भने आफूहरूले मिलापत्र नगरेको बताउँदै आउनु भएको छ ।

कुटपिटबाट घाइते भएका बालकको असार १ गते ओखलढुङ्गास्थित मिशन अस्पतालमा उपचार भएको छ ।

Photo 20200628 Solukhumbhu

Photo 20200628 Solukhumbhu (4)

 

Photo 20200628 Solukhumbhu (1)

Photo 20200628 Solukhumbhu (5)


भोजराज कार्की