जातीय विभेद गरी कुटपिट, आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७७ भदौ १० गते

घोडाघोडी नगरपाकिा-६ बग्छुरीया आर्दशनगरका २० वर्षीय विकास बिक, १७ वर्षीय सुनिल बिक र २२ वर्षीय अनिल बिकलाई भदौ ६ गते सोही ठाउँका ३० वर्षीय खेमराज बम, २० वर्षीय ललित भण्डारी, २३ वर्षीय निर्प भण्डारी, २२ वर्षीय दलबहादुर भण्डारी, २० वर्षीय वमबहादुर भण्डारी, २० वर्षीय डम्बर साउद र २२ वर्षीय गोपी साउदले जाततीय विभेद गर्नुको साथै कुटपिट गरेको आरोपमा पीडित पक्षले भदौ ९ गते इलाका प्रहरी कार्यालय, सुखडमा उजुरी दिएको छ ।

आफूहरू बसोबास गर्दै आएको क्षेत्रमा नै आएर आरोपितहरूले 'कामी, डुम के गर्न सक्छौ ?' भन्दै कुटपिट गरेकोले प्रहरीमा उजुरी दिएको पीडित परिवारका सदस्य नवराज बिकले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

गैरदलित युवाहरूको कुटपिटबाट विकास बिकको टाउकोमा चोट लागेका कारण नेपालगञ्ज मेडिकल कलेजमा लगेर पाँच टाँका लगाएर भदौ ७ गते घर ल्याइएको छ ।

गोडा र घाँटीमा चोट  लागेका सुनिल बिकको उपचार घोडाघोडी अस्पतालमा भइरहेको पीडित नवराजले इन्सेक प्रनिनिधिलाई बताउनु भयो ।

घोडाघोडी नगरपाकिा वडा नम्बर ६ का अध्यक्ष विनोद बिकले घटनाको बारेका भदौ ७ गते इलाका प्रहरी कार्यालय, सुखडमा जानकारी गराउँदा कुनै सुनवाइ नै नभएपछि पीडित पक्षले दिएको दबाबपश्चात मात्रै भदौ ९ गते प्रहरीले उजुरी दर्ता गरेको बताउनु भयो ।

इलाका प्रहरी कार्यालय, सुखडका इन्स्पेक्टर हरिशरण भट्टले भदौ ८ गते दुबै पक्षबीच छलफल गराउने उद्देश्यले उजुरी दर्ता नगरिएको तर पीडित पक्षले लिखित उजुरी दिएपछि भदौ ९ गते उजुरी दर्ता गरी प्रक्रिया अगाडि बढाएको बताउनु भयो । घटनाका आरोपितहरू फरार रहेकाले खोजी कार्य जारी रहेको इन्स्पेक्टर भट्टले बताउनु भयो ।


मैनामोती चौधरी