जहाँ छोरीलाई अहिले पनि सन्तानका रूपमा स्वीकारिँदैन !

  ०७६ साउन ३० गते

साँझ पर्ने बेलामा जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली पुस्तकालयको तल्लो तलाको गल्लीमा नाबालकको आवाज सुनियो ।

पुस्तकालयको दोस्रो तलामा रेडियो नारी आवाजका सञ्चारकर्मी बसेका थिए । केही आवाज सुनेपछि रेडियो प्रबन्धक दिलमाया शाहीसहित अन्य कर्मचारी तल्लो तलामा जाँदा गल्लीमा नवजात शिशु र सुत्केरी महिला अलपत्र अवस्थामा भेटिए ।

पातारासी गाउँपालिका-२ तल्फी गाउँ बस्ने ३५ वर्षीया पुतली महतारा नवराज शिशु सहित बसिरहेकी थिइन् ।

महताराले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लामा साउन १३ गते छोरी जन्माएकी थिइन् ।

छोरी जन्माएको थाहा पाएपछि ३७ वर्षीय पति वीरबहादुर महतारा तीन दिनकी सुत्केरी पत्नीलाई अस्पतालमै छोडी भागेका थिए ।

सुत्केरी अवस्थामा घरपरिवार, पतिको माया, मिठोमसिनो, पोषणयुक्त खाना र आराम गर्नुपर्ने हुन्छ । तर, छोरी जन्माएको निहुँमा पुतलीका पति वीरबहादुरले अस्पतालमै छोडेर हिँडेपछि उनले दुःखकष्ट भोग्नुपर्‍यो ।

छोरा जन्मिने आशामा अस्पतालमा कुरूवा बसेका पति वीरबहादुर छोरी जन्मेपछि आफूलाई अस्पतालमै अलपत्र छोडेर हिँडेको पुतलीले बताइन् । केही दिन अस्पतालको बेडमै बसेपनि अस्पतालबाट डिस्चार्ज भएपछि भने उनी अलपत्र परिन् ।

नवजात शिशु बोकेर घर जान पनि समस्या भयो, बस्ने ठाउँ पनि छैन । काखमा नवजात शिशु बोकेर घर जान खोजेपनि केही दिनदेखि खान समेत नपाएकी कारण उनी हिँड्नै सकिरहेकी थिइनन् ।

घर जान नसकेपछि जुम्ला सदरमुकाम खलङ्गाका धेरै घरमा बास मागेपनि भर्खरकी सुत्केरीलाई घर बस्न नदिने भनेपछि बस्ने ठाउँ पनि नपाएको उनले दुखेसो पोखिन् ।

केही उपाय नलागेपछि कर्णाली पुस्तकालयको तल्लो तलाको गल्लीमा बसेको पुतलीको भनाई छ । उनको पीडा सुनेपछि रेडियोका प्रबन्धक दिलमाया शाहीले पुतलीलाई रेडियोको प्राविधिक कोठामा लगेर राखिन् ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले पुतलीको अवस्थाका बारेमा जानकारी पाएपछि आश्रयका लागि मध्यरातमा नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा लगेर राखिएको बताइन् ।

साउन ७ गते अस्पताल भर्ना भएकी पुतलीले १३ गते छोरी जन्माएकी थिइन् । गोडामा चोट लागेका कारण उनले थप केही दिन अस्पताल बस्नुपर्यो ।

प्रशासनले वीरबहादुरलाई बोलाएर सुत्केरी स्याहार गर्न पहल गर्‍यो । साउन २३ गते जिल्ला प्रशासन कार्यालय, जुम्लामा प्रमुख जिल्ला अधिकारी बञ्जाडे, पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा, डिएसपी सीताराम रिजाल, सुत्केरीकी फूपु दिदी र परिवारका सदस्यसँग छलफल गरेको थियो ।

छलफल पश्चात् पातारासी गाउँपालिका अध्यक्ष बोहोराको पहलमा एम्बुलेन्सको व्यवस्था गरी सुत्केरीलाई सोही दिन सुरक्षित घर पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय, जुम्लाले जनाएको छ ।

जिल्लाको दुर्गम क्षेत्रका महिला अहिले पनि छोरी जन्माएकै कारण यस्तो अवस्था झेल्नु निकै दुःखद् भएको अधिकारकर्मीहरू बताउँछन् ।

गतवर्ष कनकासुन्दरी गाउँपालिका-६ बस्ने झन्माया रोकायाले लगातार ६ ओटी छोरी जन्माएकै कारण घरबाट उठिबास भयो । उनी गत कात्तिक महिनादेखि माइतीघरमा छिन् ।

कनकासुन्दरीकी झनमायालाई पति गङ्गाराम रोकायाले छोरी जन्माएको आरोपमा घरबाट निकाला गरेका थिए । झनमायाले आफू ६ महिनाको गर्भवती अवस्थामा पति गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन् ।

पतिले घरबाट निकालेपछि गएको कात्तिक महिनादेखि माइतीघरमा बस्दै आएको उनले बताइन् । उनले गत पुस ३ गते तेस्रो सन्तानका रूपमा छोरी जन्माइन् ।

'पटक पटक छोरी जन्माएपछि निकै दुःख पाएँ'-झनमायाले दुखेसो पोखिन्-'पति नभएपछि परिवारले पनि साथ दिएनन् । आफ्नो कोही भएनन् ।'

अस्पतालमा होस् या घरमा नै किन नहोस् यहाँ छोरा जन्मिए सिन्दुर जात्रा गर्ने र एक आपसमा खुसियाली साट्ने चलन छ ।

छोरा जन्मिए हर्षबढाई गर्ने र छोरी जन्मिए सुत्केरी आमालाई सन्चोबिसन्चो समेत नसोध्ने कुसंस्कार यथावत् नै छ ।

तिला गाउँपालिका-३ फुयालवाडाका पुसे नेपाली अहिले ६५ वर्षका भए । पुसे नेपालीले १४ वर्षको कलिलै उमेरमा रिठु नेपालीसँग विवाह गरे ।

बिहे भएको वर्षदिन नबित्दै पहिलो सन्तानका रूपमा छोरी कमला जन्मिएको रिठु नेपालीले बताइन् । समय बित्दै जाँदा दोस्रो पटक पनि छोरी नै जन्मिइन् ।

छोरा नभए समाजले हेप्ने, मर्दा पनि दाहासंस्कार गर्ने मान्छे नहुने र सम्पतिको हकदार छोरा हुनुपर्ने पुरातन सोचका कारण छोरा जन्माउनै पर्ने निर्श्कषमा नेपाली परिवार पुग्यो ।

छोरा जन्माउने आशले नेपाली दम्पतिले ११ छोरी जन्माए । पुसेलाई अहिले छोरीहरूको लालनपालनमा निकै कष्ट भइरहेको छ ।

सबै छोरीलाई उपयुक्त शिक्षादीक्षा दिन उनको पारिवारिक अवस्थाले पनि पुगेन । उनका ११ छोरीमध्ये पालनपोषणकै अभावमा तीन छोरीको ज्यान गयो । बाँचेका आठ जना छोरीमध्ये चार जनाको सानै उमेरमा विवाह (बालविवाह) भयो । अहिले चार छोरी र पतिपत्नी घरमा छन् ।

समाजमा छोरीको भन्दा छोराको महत्व धेरै हुन्छ भन्ने मान्यता बोक्दै अधिकांशले भिडियो एक्सरेमार्फत लिङ्ग पहिचान गरी भ्रुण हत्या गर्ने गरेको पाइएको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया बुढाले बताइन् ।

उनी भन्छिन्-'शिक्षित व्यक्तिहरूले नै यस्ता किसिमका काम गर्दै आएका छन् । पहिलो सन्तान छोरी जन्मने बित्तिकै दोस्रो पटक सन्तान जन्माउने अधिकांश व्यक्तिले भिडियो एक्सरेमार्फत लिङ्ग पहिचान गर्ने र छोरी भएमा भ्रुण हत्या गर्ने गरेका छन् । गैरकानुनी रूपमा हुने यस्ता घटना समाजमा यत्रतत्र सुनिने भएपनि खासै यसमाथि कानुनी कारवाही भने भएको पाइँदैन ।'

देशमा शासन व्यवस्था र समय फेरिए पनि जुम्लामा पनि लिङ्गका आधारमा छोराछोरीबीच गरिने विभेद अझै कायमै छ ।


मानदत्त रावल