जसपा कार्यकर्ताहरूद्वारा नेकपा कार्यकर्ताहरूमाथि कुटपिट

  ०७७ वैशाख २८ गते

मलंगवा नपा–३ स्थित विश्वकर्मा चोक देखी रिङ्गरोड भएर शिवसागर चोकमा जाँदै गर्दा वैशाख २५ गते साँझ साढे सात बजे नेकपाका चार जना युवा कार्यकर्ताहरूलाई विश्वकर्मा चोक देखी उत्तर तर्फ रिङ्गरोडमा अङ्गभङ्ग हुने गरी जनता समाजवादी पार्टी (तत्कालीन राजपा)का पाँचजना कार्यकर्ताहरूले कुटपिट गरेका छन् ।

इभिनिङ्ग वाकमा निस्केका मलंगवा नपा–२ बस्ने रामऔतार राउतको छोरा २६ वर्षीय अवधेस कुमार राउत, विन्देश्वर महतोको छोरा २१ वर्षीय रञ्जित महतो, नन्दलाल साहको २४ वर्षीय छोरा रामकिशोर कुमार साह र नागेन्द्र साहको २३ वर्षीय छोरा उपेन्द्र साहलाई कुटपिट भएको हो ।

आक्रमण गर्नेहरू राजपाका अन्दाजी ४० वर्षीय रहिम मंसुरी, २७ वर्षीय छोटे मंसुरी, २२ वर्षीय नन्हे मंसुरी, २१ वर्षीय रोजबा मंसुरी, ३० वर्षीय नेक महम्द र अन्य दुई जना नाम नखुलेकाहरू रहेको पीडित रञ्जित महतोले बताउनु भएको छ ।

त्यस मध्ये सुरूमा अवधेस कुमार राउतलाई एक्कासी पछाडीबाट तीनजना सवार सि.बि.जेड मोटरसाईकलबाट ठक्कर दिई चोट पु¥याइएको थियो । जसपाका कार्यकर्ता रोजबा मंसुरीले चलाएको मोटरसाईकलमा आफुसहित नन्हे मंसुरी र छोटे मंसुरीसमेत थिए ।

अवधेस कुमारलाई चोट लागेपछि सर्लाही क्याम्पसका अनेरास्ववियु ईकाइ कमिटि अध्यक्ष रञ्जित महतोले बाइक चालकलाई तिब्र गतीमा सवारी चलाएमा मान्छे मर्न सक्छ भनी सम्झाउन खोजेका थिए ।

तर, जसपाका कार्यकर्ताहरूले घटनास्थल नजिकका अन्य कार्यकर्ता बोलाई चारै जनालाई गाली गलौज तथा ज्यान मार्ने धम्की समेत दिएर रड, चेन, भातालगायत हतियारले आक्रमण गरेका थिए ।

आक्रमणबाट पीडित अवधेश कुमार राउतको दाहिने हात भाँचिएको, रामकिशोर कुमार साहको ओठ फाटिएको तथा टाउकोमा चोट लागेको, रञ्जित महतोको दाहिने हात भाँचिएको, ढाडलगायत शरिरको अन्य भाग अङ्गभङ्ग भएको तथा आँखामा चोट परेको र उपेन्द्र साहको नाक तथा आँखामा चोट परेको पीडित अवधेश कुमार राउतले बताउनु भएको छ ।

०७७ वैशाख २६ गते पीडित रञ्जित महतोले जिल्ला प्रहरी कार्यालय मलंगवामा लिखित उजुरी दिनु भएको छ ।

पीडितको उजुरीको आधारमा राजपाका रहिम मंसुरीलाई जिल्ला प्रहरी कार्यालय मलंगवाले वैशाख २६ गते गिरफ्तार गरेको एसपी विश्वमणी पोखरेलले बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी विश्वमणी पोखरेलका अनुसार घटनामा संलग्न छोटे मंसुरी, नन्हे मंसुरी, रोजबा मंसुरी, नेक महम्द हाल फरार भएकाले उनीहरूको खोज–तलास तिब्ररूपमा भइरहेको बताउनु भएको छ ।

घाईतेहरूको उपचार वैशाख २५ गते मलंगवाको सर्लाही जिल्ला अस्पतालमा भएको थियो ।


बुधन साह