जलेश्वर कारागारमा झडप हुँदा आठ जना घाइते

  ०७३ मङ्सिर १२ गते

जलेश्वर कारागारमा मङ्सिर १२ गते बिहान दुई समूहबिच झडप हुँदा आठ जना कैदीबन्दी घाइते भएका छन् ।

कारागारका भाइ नाइके कारी साहलाई सन्तोष पण्डितले पानी तान्ने धाराको हृयान्डलले टाउकोमा प्रहार गरेपछि झडप सुरु भएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना घाइते भएका छन् । अन्य घाइतेहरूमा मोहम्मद अलि याकद, सञ्जय बम्जन, दिनेश भुजेल, रमेशकुमार दास, श्यामदेव पासवान र सुरेन्द्रप्रसाद सिंह रहेका छन् ।

घाइतेहरूलाई उपचारका लागि जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा लगिएको जेलर शोभेन्द्र ठाकुरले जानकारी दिए ।

कैदीबन्दीको दुई समूहमा दाउरा र फलामको डण्डीले दोहोरो हानाहान भएको चौकीदार श्रीनारायण महतोले बताए । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट इन्स्पेक्टर रवीन्द्र खनालको नेतृत्वमा गएको ५० जना प्रहरीको टोलीले कारागारभित्र प्रवेश गरी झडपलाई नियन्त्रणमा लिएको थियो ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जनक भट्टराईले बताए ।


अजयकुमार साह