जलेश्वर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

  ०७६ असार १५ गते

जलेश्वर कारागारमा क्षमताभन्दा तेब्बर भन्दा बढी कैदीबन्दीका कारण व्यवस्थापनमा समस्या भइरहेको जेलर चिरिञ्जीवी थापाले बताएका छन् ।

१ सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागारको क्षमता १ सय ३५ मात्र हो । तर, यहाँ ४४ महिला, ४ सय ९ पुरूष र तीन जना आश्रित बालबालिका सहित ४ सय ५३ जना कैदीबन्दी छन् ।

जेलर थापाले भने–“बढ्दो कैदीबन्दी सङ्ख्याले मानवीय समस्यामात्र बढाएको छैन । व्यवस्थापन र प्रशासनिक जटिलता समेत थपेको छ ।”

चौकीदार श्रीनारायण साहले कैदी सङ्ख्या अत्यधिक भएपछि स्थान अभावमा एक कैदीलाई सुत्न १४–१५ इन्ची जति पनि ठाउँ नपुग्ने गरेको अवस्था रहेको बताए ।

बढ्दो सङ्ख्याले जलेश्वर कारागार भरिभराउ छ । क्षमता विस्तार र सेवा सुविधा नथपिने कैदीबन्दी मात्र बढ्दा कारागारमा मानवीय समस्या देखिन थालेको छ । कैदीलाई खानेबस्ने समस्या छ ।

सुत्ने स्थान र शौचालय समस्याको असर स्वास्थ्यमा परेको कैदीले पीडा पोखेका छन् । अवस्था उकुसमुकुस छ । उनीहरूले भोग्नु परेका समस्या ठूलो छ ।

“धारामा घण्टौ कुर्नु पर्छ । बस्ने ठाउँ छैन । खाना समेत उभिएर खानु पर्छ । शौचालयमा तीन घण्टापछि मात्र पालो आउँछ ।”–कैदी बन्दीले सुनाएका पीडाले जलेश्वर कारागारको अस्तव्यस्तता देखाएको छ ।

त्यति मात्र होइन पानी, स्थान र शौचालय जस्ता आधारभूत आवश्यकताका लागि कैदीबन्दी बीच दिनहुँको तनाव, झडप, विवाद र नाराबाजी हुने गरेको छ । सरकारी उदासिनताका कारण कारागारको समस्या अमानवीय हुँदै गएको कैदीबन्दीको भनाई छ ।

मानव अधिकार रक्षक सञ्जाल महोत्तरीका सचिव रञ्जन भण्डारीले लोकतन्त्र बहाली भएको यति वर्षपछि पनि मुलुकका ठूल्ठूला नेता बसेको जलेश्वर कारागार सुविधा र मानवीय दृष्टिले अहिले पनि राणाकाल कै अवस्थामा हुनु दुःखदायी र आपत्तिजनक रहेको बताए ।

केही समयअघि सरूवा भएका जेलर थापाको बुझाइमा मुख्यतः दुई कारणले जलेश्वर कारागारमा समस्या बढि देखिएको हो । एउटा धनुषा जिल्लामा कारागार नहुनु र अर्को सर्लाही जिल्लाका कैदीबन्दी समेत यतै थपिनु ।

यस कारागारमा रहेका ९० प्रतिशत कैदीबन्दी धनुषाका हुन् र सर्लाहीको मलङ्गवाबाट समेत यता पठाउँदा अवस्था जटिल बन्दै गएको जेलर थापाले भने ।

दुई ओटा जिल्लाको कारागार यहाँ रहनु तथा सर्लाहीमा पनि निर्माणाधीन रहनुले कैदीबन्दी बढ्दै गएको कारागार प्रशासनले जनाएको छ ।

यसरी महोत्तरी र धनुषाको लागि जलेश्वरमा रहेको एक मात्र जिल्ला कारागार दिनप्रतिदिन यातना गृहमा परिवर्तन हुँदै गएको छ ।

सरोकारवाला निकायहरूले जिल्ला कारागारको अहिलेको भवनलाई नयाँ नबनाएसम्म सुधारगृहमा परिवर्तन गर्न गाह्रो हुने जनाएको छ ।

निकै पुरानो भवन हुनु, भवन पनि जीर्ण हुँदै जानु, क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुनु तथा कैदीबन्दीको सङ्ख्या अनुसार शौचालय, धाराको अभाव हुनुलगायतका कारणले यो यातनागृह बनेको अधिकारकर्मी तथा पत्रकार राकेश चौधरीले बताए ।

कैदीबन्दीको सङ्ख्या बढी हुनु र भवनको अभाव हुँदा कारागारमा कैदीबन्दीहरूलाई पालैपालो सुत्नुपर्ने अवस्था रहेको छ ।

शौचालय जान पनि दुई घण्टाभन्दा बढी पखर्नुपर्ने बाध्यता रहेको छ । कारागारलाई जतिसुकै सुधारगृहको रूपमा लग्ने कोशिश गरेपनि आधारभूत आवश्यकता नै पुरा नभएपछि कसरी सुधारगृह बनाउन सकिन्छ ? प्रश्न गर्दै नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले भने–“जीर्ण कारागार र क्षमताभन्दा बढी कैदीबन्दीका कारणले कैदीबन्दीहरू ज्यादै नै कष्ट भोग्नु परिरहेको अवस्था छ ।”

करिब २ बिगाहामा रहेको कारागारमा कैदीबन्दीहरूलाई अन्य कारागारमा स्थानान्तरण गरिएपनि समस्या ज्यूका त्यूँ रहेका छन् ।

केही महिना अगाडि मात्रै माथिल्लो तल्लाका भवन चर्किएपछि र ठाउँ अभाव भएपछि ६ जना कैदीबन्दीहरूलाई झुम्का कारागारमा सारिएको थियो ।

कारागारलाई सुधारगृह बनाउन कम्तीमा पनि ५-६ बिगाहा जग्गामा भवन निर्माण सहित अन्य पूर्वाधारहरू निर्माण गरिनुपर्ने आवश्यकता रहेको देखिएको छ ।

रोगी बन्दै कैदीहरूको पीडा
“कि करू हजुर..! जान आब पहाड भगेल (के गरौँ हजुर, आफ्नो ज्यान नै पहाड भयो)”–कारागारमा कैदी जीवन बिताई रहेका ८० वर्षीय मटर साफीले गर्मीको कारण आकुलव्याकुल हुँदै भने ।

बूढो उमेरमा बलात्कार मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका साफी अत्यधिक गर्मी बढ्दै गएसँगै उचित खानपिन नहुँदा श्वासप्रश्वास (दम) को समस्याले पीडित छन् ।

कारागारमा कर्तव्य ज्यान मुद्दाका अर्का कैदी ७० वर्षीय रामदेव मुखियाको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक हुँदैछ ।

साफी र मुखियामात्र नभएर गर्मी बढेसँगै कारागारमा कैदी बिरामी हुने क्रम ह्वात्तै बढेको छ । कारागारमा दम, रूघाखोकी, ज्वरो, निमोनियाँ र लुतो लगायतका रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ ।

पछिल्लो पटक गर्मी बढेसँगै श्वासप्रश्वास, निमोनिया र चर्मरोगका बिरामीहरूको उपचार राम्रो नहुँदा आफूहरूलाई बिरामी बनाउन नै कारागार ल्याइएको लाग्न थालेको नाम बताउन नचाहने पुरूष कक्षका एक कैदीले टिप्पणी गरे ।

कारागारमा थेग्न नसक्ने कैदी न्यायिक निकायले पठाइदिने गरेपछि उनीहरूको बसाइ व्यवस्थापन मिलाउन समस्या भएसँगै बिरामी हुने क्रम बढेको कारागार प्रशासनले स्वीकार गरेको छ । अहिले दिनहुँ नियमित उपचार लिनेकोे सङ्ख््या १ सय २५ को हाराहारीमा रहेको बताइएको छ ।

सुत्न, शौच र नुहाईधुवाईको समस्या
कारागारमा ठाउँको अभावसँगै सीमित मात्रामा शौचालय र धारा हुँँदा दिसापिसाव गर्न, नुहाउन र लुगा धुन घण्टौँ पालो कुर्नुपर्ने तथा सुत्नबस्न नै ठाउँ नपाउँदा निकै समस्या भइरहेको कैदीहरूको गुनासो छ ।

महिला कक्षका ४४ जनाका लागि एक–एक ओटा धारा र शौचालय मात्र छ । त्यसैगरी पुरूष कक्षका ४ सय ९ जनामा उपयोगमा चार–चार ओटा धारा र शौचालय मात्र हुँदा दिसापिसावको लागि घण्टौँ पालो कुर्नु पर्ने समस्याले नै बिरामी बढ्ने पुरूष कक्षका एक पाका कैदीले गुनासो गरे ।

नियमित सरसफाई गर्न नपाएर नापेर दिएको चार हात जमिनमा खाँदिएर बस्नु र सुत्नु पर्दा धेरैलाई लुतो भएको पुरूष कक्षका एक कैदीले बताए ।

“के गर्नु हजुर, नुहाउन नपाएको कत्ति दिन भइसक्यो ।”–पुरूष कक्षका करिब ६० वर्ष उमेरका एक कैदीले आफ्नो लुङ्गी उचालेर घाउ र खटिरा देखाउँदै भने–“आफैँले किनेको साबुन लगाएर नुहाउन पाउने दिन पनि हाम्रा लागि त तीर्थ नै हुने भयो ।”

कारागारको यो अवस्था अन्त्य गर्न क्षमताभन्दा बढी कैदीबन्दी अन्यत्र सार्न र कारागारमा भौतिक व्यवस्थापन जुटाउन स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा कैयौँपटक आग्रह गरिएपनि सुनुवाइ नभएको कारागार प्रशासनले जनाएको छ ।

खासगरी न्यायिक निकायबाट न्याय सम्पादनमा हुने गरेको ढिलाइले पूर्पक्ष थुनुवाको सङ्ख्या निकै बढेको र धनुषा जिल्लाका न्यायिक र अर्धन्यायिक निकायले पठाउने कैदीको सङ्ख्या निकै बढेकाले कारागारको आन्तरिक व्यवस्थापन पनि अस्तव्यस्त हुने गरेको हो । कारागारमा अहिले रहेका ४५ कैदीमध्ये ६० प्रतिशत पुर्पक्ष थुनुवा रहेको जेलर थापाले भने ।

संवत् १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएको यो कारागार त्यसयता उचित मर्मत सम्भार हुन नसक्दा दिनहुँ पर्खाल र छत उप्केर झरिरहेको छ ।


अजयकुमार साह