जबसम्म नागरिकले अनुभुति गर्दैनन् तबसम्म आरक्षण चाहिन्छः अध्यक्ष प्याकुरेल

  ०७४ मङ्सिर १५ गते

जब सम्म जनताले समाजमा समानताको अनुभति गर्दैनन् तबसम्म आरक्षण चाहिने इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले बताएका छन् ।

सिरहामा मङ्सिर १४ गते आयोजित स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले गरेको कार्यक्रममा इन्सेकका अध्यक्ष प्याकुरेलले सो कुरा बताएका हुन् । 'जबसम्म महिला, दलित, मधेसी, मुस्लिमलाई हेप्ने चलन छ, यो चलन हामिलाई अनुभूत हुनेगरी समाप्त हुदैन तब सम्म आरक्षण चाहिन्छ ।'-उनले भने ।

आरक्षणको सँगसँगै व्यक्तिको क्षमतामा पनि बृद्धि गराउँदै लग्न जरूरी रहेको अध्यक्ष प्याकुरेलले बताए । आरक्षणको नाममा राज्यले दुरूपयोग गरेकोले अझै पनि दलित, महिला, मधेसी तथा जनजातिहरू पछि परेको उनको तर्क छ ।

मधेसी, अल्पसङ्ख्यक, महिलाहरूको नाममा सधै पहुँचवालाहरूले मात्रै आरक्षणको सदुपयोग गरेको उनले बताए । स्थानीय तहको निर्वाचन भन्दा यो निर्वाचनमा भटकिलो प्रचार नभए पनि, आचारसंहिता उलंघन भएको र निर्वाचन आयोग निरिह भई कसैलाई कुनै कारबाही गर्न नसकेको गुनासोहरू विभिन्न मिडिया र नागरिक समाजबाट आउने गरेकोले अध्यक्ष प्याकुरेलले बताए ।

कार्यक्रममा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सहसंयोजक इन्द्रप्रसाद अर्यालले भने-'नागरिक सचेत भएका छन् । मतदाताहरू सधैँ एउटै पार्टीलाई भोट हाल्न, जुलुसमा जान भन्दा पनि स्वतन्त्र भएर राम्रोलाई भोट हाल्न स्वतन्त्र रहेका छन् ।'

निर्वाचनमा दलहरूले आचारसंहिता उल्लङ्घन् गरेको, मतदाता शिक्षा प्रभावकारी नभएको र सुरक्षा व्यवस्था कमजोर भएकोले नागरिकहरूमा डरत्रास तथा भयको वातावरण रहेको सहभागिहरूको गुनासो छ ।


दुर्गा परियार