जबरजस्ती यौनकार्यमा लगाएको आरोपमा सात जना गिरफ्तार

  ०७६ असार ३० गते

धनगढी उपमहा नगरपालिका–५ हसनपुरस्थित विकास होटेल र वडा नं.–३ स्थित होटेल रोयल प्यालेसबाट सात जनालाई प्रहरीले असार २९ गते गिरफ्तार गरेको छ ।

विकास होटेलका म्यानेजर कञ्चनपुर, बेलौरी–२ का २४ वर्षीय अक्षय राना र होटेल रोयल प्यालेसका व्यवस्थापक ५० वर्षीय सन्तबहादुर थापाले चार जना युवतीहरूलाई हाटेलमा काम गर्न भनी बोलाइ, हाटेलमा आएका ग्राहकहरूसँग यौन सम्बन्ध गर्न बाध्य पारेको भनेर पीडितहरूले आरोपितविरूद्ध प्रहरीमा असार २८ गते मौखिक जानकारी गराएका थिए ।

प्रहरीले राना र थापा लगायत उत्तर प्रदेश भारतका २४ वर्षीय मिलिन्द त्यागी, सोही ठाउँका २२ वर्षीय विश्वदिप बच त्यागी, कृष्णनगर भरतपुरका २६ वर्षीय अभिषेक सिनसिनवार, कैलाली धनगढी उमनपा–३ का २८ वर्षीय षडानन्द राना र सोही ठाउँका ३६ वर्षीय रानशरण रानालाई गिरफ्तार गरेको हो ।

सात जना आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखन तथा ओसारपसार शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

पीडित युवतीहरूको स्वास्थ्य परीक्षण सेती अञ्चल अस्पालमा असार ३० गते गरिएको छ ।


मैनामोती चौधरी