जन्म र मृत्यु हुँदा निःशुल्क पाउने चामलको पैसा तिर्नु पर्ने स्थानीयबासीको गुनासो

  ०७४ असोज २३ गते

सरकारले कर्णालीबासीलाई जन्म र मृत्यु संस्कारमा २० किलो चामल निःशुल्क दिने घोषणा गरेपनि खाद्य संस्थान हुम्लाले पैसा लिने गरेको स्थानीयबासीले गुनासो गरेका छन् ।

अघिल्लो सरकारले कर्णालीका पाँच ओटै जिल्लाका बासिन्दालाई जन्म र मृत्यु हुँदा सरकारले स्थानीयबासीलाई २० किलो चामल निःशुल्क दिने घोषणा गरेको थियो ।

खाद्य संस्थानले सोना मसिनो चामल वितरण गरेको भन्दै मृत्यु र जन्म भएका प्रति व्यक्तिका परिवारबाट भरपाई गराउँदै २० केजीको २ सय ४० रुपियाँ असुल्ने गरेको सिमकोट गाउँपालिका-२ ठेहेका मृतकका आफन्त हिरालाल परियारले गुनासो गरे ।

राज्यले जुनसुकै चामल भए पनि मृत्यु वा जन्म भएका व्यक्तिका परिवारलाई गाउँपालिकाबाट आएको सिफारिस अनुसार निःशुल्क चमाल दिनु पर्ने स्थानीयबासी बताउँछन् ।

हुम्लामा सोना मसिनो चामलको लागि प्रति २० केजीबाट २ सय ४० रुपियाँ लिने गरेको नेपाल खाद्य संस्थान हुम्लाले बताएको छ । अरूवा मोटा चामलको रुपियाँ नलिने गरेको भन्दै मसिनो चामलको मात्र २० केजीको २ सय ४० रुपियाँ लिने गरेको खाद्य संस्थानका कार्यालय सहयोगी हर्कधन शाहीले बताए ।

सरकारले संसदबाटै कर्णाली क्षेत्रमा जन्म र मृत्यु संस्कारमा निःशुल्क चामलसहित ढुवानी खर्चसमेत दिनेसम्बन्धी निर्देशिकासमेत पारित गरेपनि मृतक तथा जन्मेका आफन्तबाट रुपियाँ दिनु परेको सिमकोट गाउँपालिका-२ ठेहेका जसबहादुर दमाईले बताए ।

हुम्लामा जन्म र मृत्यु भएको सम्बन्धमा स्थानीय तहको प्रमाणित कागजात ल्याएमा संस्थानमा आउने स्थानीयबासिन्दालाई चामल दिने र डिपो कार्यालयमा रहेका स्थानीय तहभन्दा बाहिरका स्थानीय बासिन्दा आएमा प्रतिदिन ५ रुपियाँका दरले ढुवानी खर्च दिने र यो बढीमा दुई दिनसम्मको मात्र दुवानी खर्च दिने निर्णय भएको भए पनि अहिलेसम्म कुनै व्यक्तिले सो ढुवानी नपाएको गुनासो गरेका छन् ।

सरकारले कर्णालीका जनताका लागि मृत्यु र जन्मका लागि २० केजी चामल निःशुल्क वितरण गर्ने प्रावधान आफूलाई कुनै जानकारी नभएको र आफू भर्खरै हुम्लामा प्रमुख जिल्ला अधिकारी भएर आएको हुँदा यस विषयमा सम्बन्धित निकायसँग बुझने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए ।

नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लाका प्रमुख नारायण सिंह केसीले आफूले त्यस्तो निःशुल्क दिने जन्म र मृत्युको चामलको पैसा लिने नगरेको दावी गरे ।

दसैँदेखि अहिलेसम्म पाँच जनालाई निःशुल्क चामल वितरण गरेको संस्थानका कार्यालय सहयोगी शाहीले बताए । हाकिमको आदेशअनुसार आफूले सो चामल दिँदा २० केजीको २ सय ४० रुपियाँको दरले दिएको कार्यालय सहयोगी शाहीको भनाई छ ।


नन्द सिंह