जन्म दर्ता नभएपछि बालबालिका समस्यामा

  ०७५ चैत २४ गते

बेसीशहर नगरपालिका- ३ की ५८ वर्षीया शान्तमायाँ परियारका दुई छोरी र दुई छोराको जन्म दर्ता नहुँदा पठनपाठनमा समस्या आएको छ । जन्मदर्ताको लागि वडा कार्यालय धाए पनि वडा सचिव ईश्वरकमल श्रेष्ठले उनको छोराछोरीको जन्म दर्ता गर्न नमानेको उनको गुनासो छ । वडा सचिव श्रेष्ठका अनुसार छोराछोरीको बाबुको नाम नखुलेकोले जन्मदर्ता गर्न नसकिएको हो । जन्मदर्ता गरिदिनको लागि शान्तमायाँ जिल्ला प्रशासन कार्यालयसमेत आएर गुनासो गर्ने गरेको बताउँछन् सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनार । प्रशासन कार्यलयले नागरिकता दिने काम हो । जन्मदर्ता गर्ने निकाय स्थानीय निकायनै हो भनेर सम्झाएर पठाएको सुनारले बताए । २३ वर्षीया पिन्कि परियार, २० वर्षीया विष्णु परियार, १७ वर्षीया जोन परियार र १० वर्षीया विप्सन परियारको जन्मदर्ता भएको छैन । यीमध्ये पिंकी अपाङ्ग हुन् । जन्मदर्ता नभएको कारणले उनले अपाङ्गताको सेवासुविधा पाएकी छैनन् ।

सरकारी वकिल एकनारायण लम्सालको अनुसार आमाको नेपाली नागरिकता प्रमाण पत्रको अधारमा छोराछोरीको जन्मदर्ता प्रमाणपत्र दिन मिल्ने बताए । स्थानीय निकायले चाहेको अवस्थामा जन्मदर्ता गर्नसक्ने लम्सालको भनाइ छ ।


दलबहादुर मजाकोटी