जन्मेदेखि आयोडिन नुन उपभोग गर्ने धोको अधुरै

  ०७६ फागुन ११ गते

नेपालमा आयोडिनयुक्त नुन अभियान सुरु भएको दुई दशक बितिसक्दा पनि हुम्लाको चंखेली गाउँपालिकाका स्थानीयबासीले जन्मेदेखि आयोडिनयुक्त नुन उपभोग गर्न नपाएको गुनासो गरेका छन् ।

त्यहाँका स्थानीयबासीहरू हालसम्म पनि तिब्बती ढिकेनुनमा निर्भर छन् । सदरमुकाम सिमकोटबाट चारदेखि पाँच दिनको पैदल दूरीमा पर्ने सो गाउँपालिकाका दार्मा, मिमि, मेल्छाम, पिप्लाङ, नेप्का र मेखाला गाउँका करिब १५ हजार स्थानीयबासीले हालसम्म ढिके नुनको प्रयोग गर्दै आएको चेंखेली गाउँपालिका–३ का रनबहादुर बुढाले गुनासो गर्नु भएको हो ।

हुम्लाका अन्य बस्तीभन्दा सो ठाउँ विकासबाट पछि परेको कारण हामीलाई नेपाल सरकारले आयोडिन नुन उपलव्ध नगराएको बुढाले दुखेसो गर्नु हुन्छ । यी बस्तीका व्यक्तिले आयोडिन नुन खानुपर्छ भन्ने सुनेको भएपनि हालसम्म कस्तो हुन्छ, देखेको छैन,’ नेप्का गाउँकी स्थानीय सुनिता तामाङले बताउनु भयो ।

साल्ट ट्रेडिङ्ग कर्पोरेसनले अनुदानमा आयोडिन नुन वितरण गर्दै आएको जानकारी पाएपनि अहिलेसम्म नखाएको उहाँको भनाइ छ । चंखेली गाउँपालिका–५ का विषम्वर बुढाका अनुसार चंखेली गाउँपालिकाका सबै गाउँमा तिब्बतकै ढिके नुन प्रचलनमा भएकाले आयोडिन नुन उपलब्ध नभएको बताउनु हुन्छ ।

हामी त बाजेकै पालादेखि ढिके नुन नै खान्छौँ,’ उहाँले भन्नु भयो । सरकारले साल्ट ट्रेडिङ्गमार्फत आयोडिनयुक्त नुन प्रतिकिलो नौ रुपियाँमा वितरण गरिरहेको छ । तर, उनीहरू ५० रुपियाँ प्रतिकिलोको ढिकेनुन खान बाध्य छन् । त्यस्तै तिब्बतको टाँके नाकाबाट ढिकेनुन ल्याएर खाने गरेको चंखेली गाउँपालिका–६ का भैरव तामाङले बताउनु भयो । ‘जेठ–असार महिनामा तिब्बतको हरिया चौरमा बजार लाग्छ । नुन, तेल, चामल र लुगाफाटो त्यतैबाट किनेर ल्याउँछौँ,’ उनले भने । सरकारले दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुन खान भने पनि स्थानीयको पहुँचमा पु¥याउन सकेको छैन ।

यता साल्ट ट्रेडिङ्ग कप्रोरेशन प्रमुख राजबहाुर लामाका अनुसार ठेकेदारको लापरवाहीले गर्दा यस्तो समस्या आएको हो आउँदा वर्षबाट सो गाउँपालिकामा उक्त नुन पुरयाउन प्रतिबद्धता गर्नु हुन्छ ।

 


नन्द सिंह