जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

  ०७६ फागुन ८ गते

चन्द्रपुर नपा–८ बेतौैनाका ४५ वर्षीय टेकनाथ राउतको पाँच जना छोराछोरीको जन्मदर्ता नभएको कारण शिक्षाको अधिकारबाट वञ्चित भएका छन् ।

चार वर्ष अगाडी ४३ वर्षीया श्रीमती घरबाट वेपत्ता भएको र विवाह दर्ता नभएको कारणले छोराछोरीको जन्मदर्ता बनाउन नपाएको छोराछोरीका बुवा राउत बताउनु हुन्छ । उहाँको २५ वर्षीया छोरी कागजदेवी राउत, १७ वर्षीय छोरा अभय राउत, १५ वर्षीय छोरा अमित राउत, १० वर्षीय छोरा बादल राउत, आठ वर्षीय छोरा सनी राउत रहेका छन् । आमा बेपत्ता भएपछि टुहुरा बनेका यी सन्तानहरु जन्मदर्ता नभएको कारण शिक्षाबाट वञ्चित बनेका छन् । पटक–पटक वडा कार्यालय धाउँदा पनि जन्मदर्ता बनाउन नसकेको गुनासो बुवा राउतले बताउनु हुन्छ ।

यस विषयमा नजिकै रहेको श्री दलित जनजागरण आधारभूत विद्यालय चन्द्रपुर न.पा—८ बेतौनाका प्रधानाध्यापक सोनालाल यादव सँग कुराकानी गर्दा कानुनी प्रक्रियामा आफुहरु जानुपर्ने र सन्तानको जन्मदर्ता नहुँदा भर्ना गर्न नमिल्ने बताउनु हुँदै पढ्न मन भएमा भर्ना नगरी आएर पढ्ने वातावरण मिलाएर सहयोग गर्न सकिने बताउनु भएको छ ।

त्यस्तै चन्द्रपुर न.पा—८ का वडाअध्यक्ष पासवत चौधरीका अनुसार सफ्टवेयर सिस्टम भएकोले कम्प्युटरले लिँदैन र हामीले पनि सिस्टममा काम गर्नुपर्ने बताउनु भएको छ । अन्य कुनै तरिका अपनाउन सकिने विषयमा नगरपालिकामा बैठक राख्ने प्रतिबद्धता व्यक्त वडा अध्यक्ष चौधरीले जनाउनु भएको छ ।


कोपिला तिमल्सिना