जनशक्ति अभावमा सञ्चालनमा आएन कोभिड–१९ अस्पताल

  ०७७ भदौ ९ गते

जिल्लामा निर्माण गरिएको कोभिड अस्पताल जनशक्ति अभावमा सञ्चालनमा नआउँदा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकाहरूले सहज उपचार पाउन सकेका छैनन् ।

कोरोना भाइरस सङ्क्रमितको उपचारका लाथि जिल्ला अस्पतालले करोड मूल्य लगाएर खरिद गरेको औजार उपकरण दक्ष जनशक्तिको अभावमा प्रयोगविहीन भएका छन् ।

सङ्क्रमितको सहज उपचारका लागि सङ्घीय सरकारको एक करोड रुपियाँ र प्रदेश सरकारको १० लाख रुपियाँ गरी एक करोड १० लाख रुपियाँमा खरिद गरिएका उपकरण प्रयोगहीन भएका छन् । जनशक्ति अभावका कारण आइसोलेशन कक्ष वेवारिसे भएका छन् ।

जिल्ला अस्पतालले भेण्टीलेटरसहितको पाँच बेडको आइसीयू कक्ष निर्माण गरी सञ्चालनको प्रयास गरेपनि दक्ष जनशक्ति नहुँदा जडान गरिएका स्वास्थ्य उपकरण प्रयोगविहीन भएका हुन् ।

कोरोना विशेष अस्पताल सञ्चालनका लागि स्वास्थ्य विभागले ०७७ असारमा दुई ओटा भेण्टीलेटरसहित पाँच बेडको आईसीयू कक्ष निर्माण गर्न आदेश दिएसँगै तयारी गरिएपनि प्राविधिक जनशक्ति नपठाउँदा समस्या भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेण्ट डाक्टर जीवनारायण मण्डलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘विभागले कोरोना अस्पताल सञ्चालनका लागि भेण्टीलेटरसहितका उपकरण खरिद गर्नु भन्ने परिपत्रकै आधारमा सबै सामान खरिद गरियो, तर अहिलेसम्म प्राविधिक पठाउन सकेन ।’ जनशक्तिको अभावमा सञ्चालनमा आउन नसक्दा उपकरणसहित तयार पारिएको आइसीयू कक्ष प्रयोगविहीन बन्न पुगेको हो ।

आइसीयू कक्ष सञ्चालनका लागि कम्तीमा एक जना एनेस्थेसिया डाक्टर, चार जना मेडिकल अफिसर र आठ जना तालिम प्राप्त स्टाफ नर्सको आवश्यक पर्ने मेसु मण्डलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘आइसीयू, आइसोलेशन वार्ड चलाउने भनेकै एनेस्थेसिया डाक्टरले हो, उहाँहरूको विज्ञता नै त्यसैमा हो, त्यसैले कम्तीमा पनि एक जना एनेस्थेसिया भयो भने बाँकी हामी व्यवस्थापन गर्छौ ।’

गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न सक्ने आइसीयू र भेण्टीलेटर तयार गरिएको छ । सुरुआती चरणमा दुई ओटा भेण्टीलेटरसहित पाँच शैय्या तयार भएको र पछि जनशक्ति थपिँदै जाँदा र बिरामीको अवस्थालाई हेरी बढाउँदै लैजाने अस्पताल विकास समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले बताउनु भयो ।

जिल्लामा ०७७ वैशाख पहिलो साता देखा परेको कोरोना भाइरस सङ्क्रमणको महामारी तीन साताभित्रै फैलिँदै ३२ जना सङ्क्रमित भेटिएपछि जिल्लावासीले उदयदपुरमै आइसीयू र भेण्टीलेटर सेवासहितको कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याउन माग गरेका थिए ।

Photo 20200825 Udayapur (1)

Photo 20200825 Udayapur (2)

Photo 20200825 Udayapur (3)


भरत खड्का