जनप्रतिनिधि विरूद्ध कार्यालय बन्द गरी सरकारी कर्मचारी आन्दोलनमा, सेवाग्राही सेवा विमुख

  ०७६ जेठ ९ गते

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले जेठ ८ गते कर्मचारीलाई हातपात र दुर्व्यवहार गरेको विरोधमा ९ गते कर्मचारीले २० ओटा वडा कार्यालयसहित मुख्य कार्यालय बन्द गरी आन्दोलन गरिरहेका छन् ।

सेवाग्राहीसँग सबओभसियर ३२ वर्षीय राम खड्काले सेवा नदिएर घुस खाएको आरोपमा प्रमुख चौधरीले गाली र दुव्र्यवहार गरेको विरोधमा कार्यालय बन्द गरी कर्मचारी आन्दोलनमा होमिएका हुन् ।

मुख्य कार्यालयसहित २० ओटा वडा कार्यालय बन्द हुँदा सेवाग्राही सेवाबाट वञ्चित भएको पत्रकार महासङ्घ सुनसरी शाखाका अध्यक्ष अमर खड्काले बताए ।

सेवाग्राहीसँग घुस नखान चेतावनी दिँदै प्रमुख चौधरीले जेठ ७ गते सब ओभरसियरलाई कार्य कक्षबाट कठालोमा समातेर निकालेका थिए ।

काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले उपप्रमुख लक्ष्मी गौतमलाई ज्ञापनपत्र बुझाउँदै कार्यालयको काम ठप्प पारेका हुन् ।

कर्मचारी कुट्ने मेयर चाँहिदैन भन्दै कर्मचारीले नाराबाजी गरेपनि घुस खाने छुट कसैलाई नभएको र सेवाग्राहीका पक्षमा जस्तो सुकै आन्दोलनलाई सहज रूपमा लिने प्रमुख चौधरीले बताए ।

सेवाग्राहीहरूले भने कर्मचारीले खुलेआम घुस खाँदा र कार्यालय बन्द गरी सास्ती दिँदा पनि उनीहरूलाई कारवाही गर्न राज्यले नसक्दा सेवाग्राही सेवाबाट वञ्चित भएको गुनासो गरेका छन् ।


जयकृष्ण यादव