जनप्रतिनिधि र सामाजिक अभियन्ताको सक्रियतामा बाल विवाह बदर

  ०७७ भदौ ३० गते

जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूको सक्रियतामा मकवानपुरको भीमफेदी गाउँपालिकामा बाल विवाह बदर गरिएको छ । भीमफेदी गाउँपालिका–१ का १९ वर्षीय किशोर र मकवानपुरगढी गाउँपािलका–१ की १५ वर्षीया बालिकाबीच भदौ २४ गते भएको भागी विवाह भएकोमा भदौ २८ गते जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूको सक्रियतामा रोकिएको छ ।

आफ्नो वडामा बाल विवाह भएको सूचना पाएपछि भिमफेदी गाउँपालिका वडा नं. १ का अध्यक्ष श्यामकुमार बलले बाल विवाह मुक्त प्रदेश अभियानका सहजकर्ता पविना लामा र सीवीन बाल हेल्पलाईन मकवानपुरमा सूचना दिनुभएको थियो ।

भदौ २५ गते प्राप्त सूचनाका आधारमा  बाल विवाह रोकथामका लागि भीमफेदी–१ का वडा अध्यक्ष श्यामकुमार बल, मकवानपुरगढी गाउँपालिका–१ का वडाध्यक्ष आइत सिंह लो, मकवानपुरगढी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा, सीवीन बाल हेल्पलाइन मकवानपुरका जिल्ला संयोजक झविन्द्र ज्ञवाली, सामाजिक विकास मन्त्रालयका बाल विवाह मुक्त प्रदेश अभियानकी सहजकर्ता पविना लामाको टोलीले दुवैपक्षलाई सम्झाई बुझाई गरेर विवाह रोकिएको वडा अध्यक्ष बलले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनुभयो ।

इन्सेक जिल्ला प्रतिनिधिलाई दिएको जानकारी अनुसार विवाह हुन लागेका केटा र केटी दुवै पक्षका अभिभावक र सरोकारवालाहरूको रोहवरमा टोलीबाट सहजिकरण गरी आपसी छलफल तथा अन्तरक्रियापछि दुबै पक्षले बाल विवाह नगर्ने समुदाय समक्ष प्रतिबद्धता जाहेर गरेपछि विवाह रोक्न सफल भएको हो ।

छलफलमा बाल विवाह, यसका कानुनी प्रावधान, सचेतना तथा स्थानीय तहको बालमैत्री अभियानमा बाल विवाहले पार्ने असर तथा चुनैतिका बारेमा उपस्थित सबैलाई जानकारी गराइएको सिविन बाल हेल्पलाइनका मकवानपुर संयोजक एवम् प्रदेश बाल संरक्षण समितिका सदस्य झविन्द्र ज्ञवालीले बताउनुभयो ।


पुष्पराज अधिकारी