जनप्रतिनिधि र कर्मचारीमाथि हातपात

  ०७४ चैत १ गते

शिवनाथ गाँउपालिका-४ मा रहेको उदयदेव स्वास्थ्यचौकी व्यवस्थापन समिति गठनमा असहमति जनाउँदै स्थानीयले फागुन ३० गते जनप्रतिनिधि र कर्मचारीमाथि हातपात गरेको कर्मचारीहरूको आरोप छ ।

केही स्थानीयहरूले स्वास्थ्यचौकी इञ्चार्ज, वडा अध्यक्ष र गाउँपालिकाका नायब सुब्बा माथि हातपात गरेको शिवनाथ गाँउपालिकाका नायव सुब्बा विरसिंह महताले बताए । गठन गरेको समिति नमान्ने भन्दै उनीहरूले बैठक पुस्तिकासमेत च्यातेको उदयदेव स्वास्थ्य चौकीका इञ्चार्ज शिवकुमार कठरीयाले जानकारी दिए ।

बजार व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर महता सहित ३, ४ जनाको समूहले बैठक पुस्तिका च्यातेर आफूहरूमाथि हातपात गरेको नायव सुब्बा महताले जानकारी दिए ।

उदयदेव स्वास्थ्य चौकीका इञ्चार्ज शिवकुमार कठरीया, वडा नं ४ का वडा अध्यक्ष लक्ष्मणसिंह महता र शिवनाथ गाउँपालिकाका नायब सुब्बा विरसिंह महतामाथि हातपात भएको हो ।

महताले भने-'जनप्रतिनिधि र कर्मचारीमाथि स्थानीयले हातपात गर्न थालेपछि गाउँमा काम गर्नै समस्या भएको छ ।'

निर्देशिका अनुसार वडास्तरमा रहेका स्वास्थ्य चौकीको व्यवस्थापन समिति सम्बन्धित वडाको वडा अध्यक्षको अध्यक्षतामा गाउँपालिका अध्यक्ष संरक्षक रहने गरी समिति गठन गर्नुपर्ने व्यवस्था रहेको छ ।

हातपात गर्ने समूहले आफूहरूले निर्देशिका नमान्ने बताएको उदयदेव स्वास्थ्य चौकीका इञ्चार्ज शिवकुमार कठरियाले बताए ।

उता बजार व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर महताले भने आफूहरूले कसैमाथि हातपात नगरेको दाबी गरे ।

आफूहरूले प्रक्रियागत हिसाबले बैठक बसालेर समिति गठन गर्न आग्रह गरेको तर उनीहरूले नमानेको र स्वास्थ्यचौकीका अहेव देवराज न्यौपानेले माइन्युट च्यातेको उनको आरोप छ ।

उपभोक्ता समितिका पदाधिकारीहरूको तालिममै स्वास्थ्य व्यवस्थापन समिति गठन गर्न लागेकाले आफूहरूले असहमति जनाएको तर हातपात गरेको आरोप झुठा भएको वडा सदस्य टीकाराम कोलीले प्रतिक्रिया दिए ।

इलाका प्रहरी कार्यालय मेलौलीलाई फोनमार्फत आफुहरूलाई हातपात गरेको कर्मचरीहरूले खबर गरेको तर निवेदन लिएर आउनुहोस भन्दा अहिलेसम्म निवेदन लिएर कोही पनि नआएको इलाका प्रहरी कार्यालय, मेलौलीका सई भिमबहादुर मल्ले बताए ।


नरी बडु