जनप्रतिनिधि र कर्मचारीको विवादका कारण कर्मचारीद्वारा काम ठप्प

  ०७५ जेठ ३ गते

बनगाड कुपिण्डे नगरपालिकामा कार्यरत कर्मचारीलाई वडा नम्बर ४ र ५ का वडा अध्यक्षले दुर्व्यवहार गरेको आरोप लगाउँदै नगरपालिकामा कार्यरत कर्मचारीले जेठ २ गतेदेखि कार्यालयको सम्पूर्ण काम ठप्प पारेका छन् ।

कर्मचारीले काम नगरेपछि नगरपालिकाको कार्यालयबाट स्थानीयबासीले पाउने नागरिकता, विवाह दर्ता, जन्म दर्ता, मालपोत कार्यालयमा दिइने सिफारिस, उपभोक्ता आयोजना सिफारिसलगायतका सम्पूर्ण सेवा बन्द भएका छन् ।

नगरपालिका भित्रका केही वडा अध्यक्षले सधै आफूहरूलाई हेप्ने र धम्क्याउने गरेकाले आफूहरूले काम गर्न छाडेको नगरपालिकाका प्रशासकीय अधिकृत प्रेमप्रसाद आचार्यले बताए । कर्मचारीलाई धम्क्याउने र जबरजस्ती काम गराउने प्रवृत्तिको अन्त्य नहुँदासम्म आफूहरू काममा नर्फकने अधिकृत आचार्यले बताए ।

आफूलाई उपभोक्ता समितिका सम्झौतामा वडा अध्यक्षले बढी दबाव दिने गरेको योजना फाँटका सुब्बा हरिश तिरुवाको आरोप छ । नगरका अधिकांश कर्मचारीले नगरपालिकामा बसेर काम गर्न निक्कै कठिनाई भएको गुनासो गरेका छन् ।

वडा अध्यक्षले कर्मचारीसँग बोल्ने शैलीमा समेत आपत्ति जनाउदै सुब्बा तिरुवाले वडा अध्यक्षले नीति विपरीत काम गराउन खोजेको आरोप लगाए । उनले भने-'हामी कर्मचारी नीतिमा टेकेर काम गर्ने हो । नीतिभन्दा बाहिर गएर काम गर्दा समस्या हुन्छ । यो नगरमा काम गर्न दिन प्रतिदिन कठिनाई थपिँदै आएको छ ।'

वडा नं ५ का वडा अध्यक्ष कमल बिकले आफूहरूले कर्मचारीलाई कुनै दबाव नदिएको र नीतिमा रहेरै काम गर्न अनुरोध गरेको बताए । तर, राजनीतिक रूपमा प्रेरित कर्मचारीले योजनाका कतिपय निवेदनमा बेवास्ता गरेको बताए । विवादित योजनाका कुनै मुद्दाको सुनुवाई नभई सम्झौता गरेको र आफ्ना वडाका केही योजनाका मुद्दामा कर्मचारीले बल्झाएकाले आफूहरूको आपत्ति रहेको वडाअध्यक्ष बिकको भनाई छ ।

नगर प्रमुख गोविन्द पुनले कर्मचारी र वडाध्यक्षबिच विवाद हुँदा नगरपालिकाको कामकाज ठप्प भएको बताए । प्रशासकीय अधिकृतलगायत नगरपालिकाका सम्पूर्ण कर्मचारीले जेठ २ गते बैठक बसी समस्या समाधान नहुँदासम्म कामकाज नहुने भन्ने बैठकको निर्णय आफूलाई पेश गरेको उनले बताए । जेठ ३ गते पनि कर्मचारीले काम नगरेको नगरपालिकाले जनायो ।

नगर बाहिर रहेकी उपप्रमुख कार्यालयमा उपस्थित हुने बित्तिकै बैठक बसी यस विषयमा छलफल गरी समस्या समाधान गर्ने नगर प्रमुख पुनले बताए ।


मिना बुढाथोकी