जनप्रतिनिधिले हातगोडा बाँधेर निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप

  ०७६ वैशाख २२ गते

सोनमा गाँउपालिकामा दुई बालकलाई गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष मिलेर वैशाख २१ गते हातगोडा बाँधी निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

आरोपितहरूले सोनमा गाँउपालिका–१ की सुधा यादवलाई स्थानीय राजु साहसँग भगाउनको लागि सहयोग गरेको भन्दै सोही ठाउँका १६ वर्षीय शङ्कर साह र १७ वर्षीय सुधिर साहलाई कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

वैशाख १८ गते भएको घटना मिलाउन आयोजित पञ्चायतमा वडा कार्यालयकै परिसर भित्रबाट केही व्यक्तिहरूले कुटपिट गरेको पीडित शङ्कर साहले बताए ।

पीडित साहले बताए अनुसार वडाध्यक्ष अशोक यादव, गाउँपालिका प्रमुख राजकुमार यादव र प्रमोद यादवले हातगोडा बाँधी निर्घात कुटपिट गरेका हुन् ।

घाइते अवस्थामा रहेको आफूहरुलाई घटनास्थलमा रहेका प्रहरीले पनि अस्पताल नलगेर घरमा छाडेको पीडित साहले गुनासो गरे ।

भागेको केटीलाई २४ घण्टाभित्र फिर्ता ल्याउन गाउँपालिका प्रमुख यादवले चेतावनी दिएको पनि पीडित साहले बताए ।

निर्घात कुटपिटबाट घाइते शङ्कर साहको उपचार गौशाला प्राथमिक उपचार केन्द्रमा भइरहेको छ भने सुधिर साहलाई उपचारको लागि काठमाडौँ लगिएको छ ।

पीडित शङ्करको बुबा रामु साहका अनुसार आफ्नो छोरा एसइइ सकेर ब्रिज कोर्स तयारीमा लहानमा पढिरहेको अवस्था गाउँपालिका अध्यक्षलगायतले बोलाएर अनाहकमा कुटिपिट गरे ।

छोराले उक्त घटनामा आफ्नो कुनै संग्लनता नभएको भन्दाभन्दै कुनै कुरा नबुझी कुटपिट गरेको रामु साहले बताए ।

कुटपिटका कारण नाकबाट रगत बग्नुको सथौ शरीरको विभिन्न अङ्गमा निलडाम परेको छ । आर्थिक रुपमा कमजोर भएका कारण स्थानीय स्तरमा नै उपचार गराइरहेको पीडितले बताए ।

घटनाबारे इलाका प्रहरी कार्यालय गौशलामा वैशाख २१ गते उजुरी दर्ता भएको र चाँडै नै यस सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइने इन्स्पेक्टर किशोर अचार्यले बताए ।


अजयकुमार साह