जनता आवास कार्यक्रमले भएको घर भत्काइयो नयाँ बनेनः पीडित

  ०७६ पुुस १३ गते

भंगाह नपामा अवस्थित मुसहर बस्तीमा जनता आवास कार्यक्रम अलपत्र हुँदा करिव ५० घर परिवार शीतलहर र चिसोमा रात काट्न बाध्य यस समुदायलाई स्वास्थ्यमा समेत विभिन्न समस्या देखा परेको छ ।

भंगाह नपा वडा नम्बर ३ र ४ मा जनता आवास कार्यक्रमले घर भत्काएर नयाँ घर निमार्णमा ढिलाइ भएका कारण मुसहर समुदाय समस्या परेका हुन् ।

स्थानीय नयनकुमारी सदाले भन्नुभयो–‘सुरूमा त पक्की घर बनाइदिने भनेर भएको खरको झुपडी भत्काउँदा खुसी थिएँ । केही दिनमै हाम्रो पक्की घर बन्छ भन्नेमा विश्वास थियो । तीन वर्ष पुग्न लाग्दा समेत घर बनेन । हामीलाई सरकारले बेघर बनाइदियो । अहिले जाडोमा परिवारका सबैजना माथि त्रिपालको ओत र तल परालको साहाराले शीतलहर छल्दै छौँ ।’

उहाँले जनता आवासको नाममा सरकारले आफूहरूको उठिबास गराइदिएको बताउनुभयो । योजना अलपत्र हुँदा बढ्दो शीतलहर र जाडोमा अहिले त्रिपालमुनी बस्न बाध्य भएको स्थानीय ६० वर्षीय मुनेसरी देवी सदाले बताउनुभयो ।

मुनेसरी सदाले आफूहरू तीन वर्षदेखि खुल्ला आकाशमुनी रात काट्न बाध्य भएको बताउनुभयो । शीतलहरमा घर नहुँदा आफूहरू परालको ओछ्यान लगाएर सुत्न बाध्य भएको उहाँले बताउनुभयो । तीन वर्षदेखि शितलहरमा परालको ओछ्यान र त्रिपाल साहारामा रात काटेको बताउनुभयो ।

शीतलहरमा लगलग काँप्दै गरेका ६० वर्षीय मुनेसरी देवी सदा मुसहरले भन्नुभयोे–‘जाडो बढ्यो न घर छ न लगाउने कपडा, आगो तापेर रात कटाउने गरेका छौँ ।’

भंगाहा नपा–४ बस्ने सरस्वती सदाले घर निर्माण नहुँदा खुल्ला आकाशमुनी आफूहरू रात काट्न बाध्य रहेको बताउनु भयो ।

‘तीन वर्षमा घरको पर्खाल मात्रै उठेको छ । घरको छानो छैन । शीतलहर र वर्षायाममा निकै कष्टपूर्ण तरिकाले रात काट्नुपर्छ । साना केटाकेटीहरूलाई शीतलहरबाट जोगाउन त्रिपालको छानो हालेपनी च्यातिएको छ ।’

सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरले गत वर्ष नै जनता आवासको काम सकिने बताउँदै आएको थियो ।

महोत्तरीमा ५ सय ३१ घर जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुने योजना भएपनि तीन वर्ष बितिसक्दा समेत काम सम्पन्न हुन सकेको छैन ।

सरकारले सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरमार्फत महोत्तरीलगायत तराईका अन्य जिल्लामा जनता आवास योजना सञ्चालनमा ल्याएको थियो ।

महोत्तरी भंगाहा नगरपालिका वडा नम्बर ३ र ४ मा रहेको मुसहर बस्तीमा जनता आवास अन्तर्गतको घरहरू करिब ३ वर्षदेखि अलपत्र अवस्थामा रहेको भंगाह नगरपालिकाले जनाएको छ ।

जस्तापाताले छाएको दुई कोठे एउटा पक्की घर निर्माणका लागि २ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो । चार किस्तामा रकम भुक्तानी गर्ने योजना थियो । महोत्तरीको सबै स्थानीय तहमा जनता आवास कार्यक्रम रहेको छ तर सबै ठाउँको अवस्था यस्तै छ ।

यता भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले नयाँ घर बनाइदिने बहानामा भएको घरलाई समेत भत्काएर दलित विपन्नहरूलाई सरकारले उठिबास बनाएको आरोप लगाउनुभयो । जनता आवास केन्द्र सरकारको आर्थिक सहयोगमा प्रदेश सरकारको काम भएकाले घरको उठाएको जगमाथि नगरपालिकाले बनाउन नमिल्ने मेयर साहको भनाई छ ।

photo20191227mahottari (1)

photo20191227mahottari (2)

photo20191227mahottari (3)

photo20191227mahottari (4)

photo20191227mahottari (5)

photo20191227mahottari (6)

photo20191227mahottari (7)

photo20191227mahottari (8)

photo20191227mahottari (9)

photo20191227mahottari (10)


अजयकुमार साह