जनता आवास कार्यक्रमको लापरवाहीका कारण दलित परिवारको बिचल्ली !

  ०७५ माघ १७ गते

नेपाल सरकारले तराईका अति विपन्न दलित परिवारका लागि अनुदानमा घर निर्माण गरीदिने गरी ल्याएको जनता आवास कार्यक्रमले दलित परिवारको उठीबास लगाएको छ ।

अढाई वर्ष पहिले सरकारले दलितका लागि २ लाख १४ हजार ७ सय रुपियाँको लागतमा पक्कि घर निर्माण गरिदिने भन्दै यहाँका दलित परिवारका घर भत्काएर निर्माण कार्य सुरू गरेको थियो ।

निर्माण सुरू गरेको अढाई वर्षसम्म एउटा पनि घर निर्माण नभएका कारण दलित परिवारको विचल्ली भएको हो ।

पहिला झुपडीमा बस्दै आएका अति विपन्न मुसहर, चमार जातीका दलित परिवारहरू नयाँ पक्की घरमा बस्न पाउने आशामा भएको झुपडी पनि भत्काइएपछि अहिले खुल्ला चौरमा त्रिपालको सहारामा बस्न बाध्य भएका छन् ।

चन्द्रपुर नपा–९ का रामबाबु राम चमारकी पत्नीसहित चार छोरी र एक छोरासहित अहिले खुल्ला चौरमा खाना पकाउने र राति सानो त्रिपाल भित्र बसिरहेका छन् ।

उनी जस्तै यस वडाका २५ दलित परिवारको हालत पनि उनकै जस्तो छ । यस वडाका चमारका चार परिवार र मुसहरका २१ परिवारका भएका ससाना झुपडी भत्काएर पक्की घर बनाइदिने आश्वासन पाएपनि माघको ठण्डीमा समेत खुल्ला आकाशमा रात बिताउनु परेको सो बस्तिका ३० वर्षीय शङ्कर माझि मुसहरले बताए ।

‘जनता आवास कार्यक्रमले हामी दलितको उठीबास लगायो ।’–उनले भने । जनता आवास कार्यक्रमको लापरवाहीका कारण गत वर्ष शितलहरबाट यस दलित बस्तीमा दुईजनाको ज्यान गइसकेको र यसवर्ष पनि एकजनाको मृत्यु भएको उनले बताए ।


कोपिला तिमल्सिना