जनकपुर बम काण्डका मुख्य योजनाकार साहसहित सात जनालाई जन्मकैदको फैसला

  ०७५ चैत १४ गते

जनकपुर बम काण्ड प्रकरणका मुख्य योजनाकार भनिएका जनकपुर उमनपा–४ का ४० वर्षीय पूर्व सभासद सञ्जय साह (टकला) सहित सात जनालाई जिल्ला अदालतले चैत १४ गते जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला अदालत धनुषामा पाँच दिनदेखि चलेको बसहपछि चैत १४ गते साहलाई दोषी ठहर गर्दै जन्मकैद सजायको फैसला सुनाइएको हो ।

न्यायाधीश राजेशकुमार कटुवालको इजलासले पुर्व सभासद साहसहित सात जनालाई जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए ।

झाका अनुसार साहसहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, सुरेश कर्ण, रिपेन्द्र झा, जयप्रकश चौधरी र मुकेशकुमार कर्णलाई जन्मकैदको सजाय सुनाइएको हो ।

जनकपुरको रामानन्द चोकमा भएको बम विष्फोट घटनाको आरोपित सभासद सञ्जयकुमार साहलाई प्रहरीले ०७१ वैशाख २० गते वीरगञ्जबाट गिरफ्तार गरी पत्रकार सम्मेलनमार्फत वैशाख २१ गते सार्वजानिक गरेको थियो ।

जिल्ला अदालतको आदेशमा ०७१ वैशाख २५ गतेदेखि साह पुर्पक्षका लागि थुनामा थिए । सुरक्षा चुनौति रहेको भन्दै साहलाई काठमाडौँस्थित नख्खु जेलामा राखिएको छ ।

घटनाको योजनाकार अर्जुन चौधरी र मुकेश चौधरीलाई ०७० फागुन १९ गते र घटनाको जिम्मेवारी लिने राजन मुक्ति भनिने रञ्जित झालाई प्रहरीले ०७० मङ्सिर ३ गते गिरफ्तार गरेकोमा अदालतको आदेशमा उनीहरु पुर्पक्षका लागि कारागारमा थिए ।

बम विष्फोट घटनाका अन्य आरोपित सुरेश कर्ण, जयप्रकाश चौधरी, मुकेश कर्ण, रिपेन्द्र झालाई केन्द्रीय अनुसन्धान व्युरोले घटना लगत्तै गिरफ्तार गरेकोमा उनीहरु पनि पुपक्र्षका लागि थुनामा छन् ।

जनकपुर उमनपा–८ स्थित रामानन्द चोकमा ०६९ वैशाख १८ गते गरिएको बम विष्फोटनमा परी पाँच जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए ।

विष्फोनमा परी मृत्यु हुनेहरुमा जनकपुर उमनपा–८ का ४० वर्षीय विमलशरण कुर्मी, मैथिल कलाकार महोत्तरी जिल्ला मनरासिस्वा नगरपालिका बथनाहा घरभई जनकपुर उमनपा–४ बस्ने ४० वर्षीया रञ्जु झा, जनकपुर उमनपा–१० का ४९ वर्षीय झगरु दास र जनकपुर उमनपा–८ का ४४ वर्षीय सुरेश उपाध्याय रहेका थिए ।

बम विस्फोटमा परी गम्भीर घाइते जनकपुर उमनपा–१९ बेङ्गा शिवपुरका २८ वर्षीय दिपेन्द्र दासको काठमाडौँ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ०६९ वैशाख २१ गते राति ११ बजे उपचारको क्रममा मृत्यु भएको थियो ।

पूर्व भौतिक पूर्वाधारमन्त्री समेत रहेका तथा तत्कालीन सद्भावना पार्टीबाट ०७० सालमा धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट बिजयी भएर सभासद समेत बनेका साहलाई बम काण्डको आरोपपछि सद्भावना पार्टीबाट निलम्बित गरिएको थियो ।


विनोदकुमार रविदास