जनकपुरमा २ हजार ५ सय घरधुरी वर्षौँदेखि खानेपानीको पहुँचबाहिर

  ०७६ मङ्सिर ४ गते

जनकपुरधामको रामानन्दचोकमा रहेको खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीबाट जनकपुरका २ हजार ५ सय घरधुरी वर्षौँदेखि वञ्चित हुँदै आएका छन् । खानेपानी संस्थान कार्यालय जनकपुरको रेकर्ड अनुसार ५ हजार भन्दा बढी घरधुरीमा धारा जडान गरिएको छ तर त्यसमध्ये २ हजार ५ सय घरधुरीमा भने वर्षौँदेखि खानेपानीको एक थोपा पानी समेत पुग्न सकेको छैन ।

जनकपुरधाम उमनपाको १ देखि १४ वडामा खानेपानी संस्थानले पाइपलाइन जडान गरेर घरघरमा पानी सप्लाई गर्दै आएको भएपनि जनकपुरमा एशियाली विकास बैङ्कको सहयोगमा एकीकृत शहरी विकास परियोजनाअन्तर्गत ढल निकास र सडक विस्तारको काम थालनी भएपछि २०७१ सालदेखि खानेपानीको पाइपलाइन चुँडिएर हाल २ हजार ५ सय घरधुरीमा मात्रै पानी वितरण हुँदै आएको खानेपानी संस्थान जनकपुरका प्रमुख विनोद मिश्राले जनाएका छन् ।

जनकपुरधाम उमनपा ५ देखि १० वाडामा मात्रै दिनहुँ साँझ र बिहान पानी वितरण गरिँदै आएको भएपनि पटकपटक सडक निमार्णको क्रममा पाइप चुडिँदा महिनौँसम्म ग्राहकको धारामा पानी आउँदैन, पानी आएपनि पानीमा किरा र फोहोर आउने गरेको देवीचोक बस्ने शेखर यादवले गुनासो गरेका छन् ।

उनले भने-'जनकपुरमा अहिले ४ सयदेखि ५ सय फिट जमिनमुनिबाट टयुवेल (चापाकल) मा मात्रै पानी आइरहेको छ ।'

आफ्नो घरमा १ सय ५० फिटको चापाकल छ । पानी आउँछ तर खानेपानीको रुपमा प्रयोग गर्न नमिल्ने भएकाले पानी नआउने दिन अरुको घरबाट पानी ओर्सानुपर्ने बाध्यता रहेको बताए ।

वर्षौदेखि धारामा पानि नआएपछि कपडा धुन, शौचालय, भाँडा वर्तन माझन एक सय पचास फिटको कलमा समेत पानी सुकेपछि सरस्वती टोलस्थित रामजानकी मन्दिरमा रहेको चापाकलबाट पानी ओसारेर जिवनयापन गर्न बाध्य रहेको जनकपुरधाम उमनपा–११ मिल्स एरिया बस्ने धनेश्वर साहले बताए ।

पटकपटक खानेपानी संस्थानको कार्यालयमा गएर धारामा नियमित पानी कहिलेदेखि आउने भनी गुनासो गर्दै आएको भएपनि पाइपलाइन नजोडिएसम्म पानी नजाने बताउँदै आएको साहले बताए ।

यता, खानेपानी संस्थानका प्रमुख विनोद मिश्राले शहरी विकास परियोजनाको क्रममा सडक विस्तारसँगै खानेपानीको पाइप लाइन चुडिएर समस्या भएकाले गर्दा सडक निर्माण कम्पनीलाई नै नयाँ पाइपलाइन बिछ्याउने बजेटसहितको जिम्मेवारी दिएकाले आफूहरूले ठेक्कदार कम्पनी रमण कन्ट्रक्सनसँग पटकपटक सहकार्य गरेर अहिले पाइप लाइन चुँडिएको स्थानमा पाइप लाइन विछ्याउने काम भइरहको बताए ।

उनले भने खानेपानी संस्थानसँग मर्मत सम्भारको रकम समेत नभएकाले गर्दा अझै समस्या भइरहेको र पाइप चुडिँदा समेत ठेकेदार कम्पनीकै मुख ताकेर बस्नुपर्ने बाध्यता रहेको गुनासो गरे ।

धारामा पानी नआए पनि महसुल तिर्नुपर्ने बाध्यता
खानेपानी संस्थानले वर्षौँदेखि सेवाग्राहीको धारामा पानी पठाउन नसकेपनि पानी बापतको नियमित रूपमा न्युनतम महसुल भने तिराउने गरेको छ । जसले गर्दा सेवाग्राही दोहोरो मारमा परेका छन् ।

संस्थानका प्रमुख मिश्राका अनुसार सडक विस्तारको क्रममा पाइप चुँडिदा घरघरमा पानी पठाउन सकिएको छैन ।

वर्षौँदेखि पानी नआएपनि महसुल तिर्नुपर्ने बाध्यता छ । केन्द्रिय कार्यालयमा त्यस्ता सेवाग्राहीको महसुल छुट गर्न जनकपुर खानेपानी संस्थानले आग्रह गरेको भएपनि केन्द्रिय कार्यालयले आधिकारिक जबाफ नपठाएकाले आफू पनि अन्यौलमा परेको बताए ।

केन्द्रिय कार्यालयले छुट दिन आधिकारिक जानकारी नगराएसम्म जनकपुरस्थित खानेपानी संस्थानले न्युनतम महसुल लिनैपर्ने र सेवाग्राहीको समस्या बुझेर पनि केही गर्न नसकिने खानेपानी संस्थान प्रमुख मिश्राको भनाइ छ ।


दीपेन्द्रप्रसाद सिंह