जनकपुरमा पत्रकार र कर्मचारीबिच झडप हुँदा १२ जना घाइते

  ०७६ पुस २३ गते

जनकपुरधाम उपमहानगरपालिकामा पुस २२ गते भएको झडपमा परेर १२ जना घाइते भएका छन् । पुस २२ गते जनकपुरका पत्रकारहरुको जानकी मन्दिर अवस्थित फूलवारीको जग्गा स्थानीयले मिचेको भन्दै भएको विवादबारे जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा प्रतिक्रिया लिन पुगेका पत्रकार र कर्मचारीबिच झडप हुँदा दुवैतर्फका गरी १२ जना घाइते भएका हुन् ।

photo20190108Dhanusha (3)

झडपको क्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष समेत रहनु भएका कान्तिपुर टिभीका प्रदेश व्युरो प्रमुख ४२ वर्षीय अनिल मिश्र, कान्तिपुर महोत्तरीका संवाददाता ४० वर्षीय अमरकान्त ठाकुर, एपिवन टिभीका प्रदेश व्युरो प्रमुख ३५ वर्षीय विकास साह, एविसी टिभीका संवाददाता २३ वर्षीय सुमित मिश्र, देशसञ्चारका संवाददाता २३ वर्षीय राजा झा, उज्यालो ९० नेटवर्कका संवाददाता ३४ वर्षीय सुभाष कर्णलगायतका पत्रकारहरू कुटपिटबाट घाइते भएका छन् । पत्रकार सुमित मिश्रको क्यामेरा र मोबाइल झडपको क्रममा हराएको छ ।

झडपको क्रममा जनकपुरधाम उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरु ३६ वर्षीया प्रमिला मण्डल, ४० वर्षीया सुनिता मेस्तरनी, ३३ वर्षीया मिना साह र २८ वर्षीया पुष्पा यादव घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका निमत्त कार्यकारी प्रमुख मेहिलाल यादवले प्रेस विज्ञप्ति जारी गर्दै सुनियोजित तरिकाले पत्रकारहरु मेयरको कार्यकक्षमा प्रवेश गरी अपशब्द प्रयोग गर्दै हुलहुज्जत र दुर्व्यवहार गरेपछि मेयरको कार्यकक्षमा रहेका कार्यपालिका सदस्यहरुमाथि पत्रकारहरुले हातपात गरेको दावि गर्दै घटनाको छानविन र दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका सचिव पुरन साह र नेपाल पत्रकार महासंघ प्रदेश समितीका महासचिव किरण कर्णले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै मेयरको कार्यकक्षमा मेयरको प्रतिक्रिया लिन पुगेका पत्रकारहरुमाथि नगरका कर्मचारी र कार्यपालिका सदस्यहरुले आक्रमण गरेको भन्दै घटनाको सही छानविन गर्दै दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

photo20190108Dhanusha (4)

photo20190108Dhanusha (1)

photo20190108Dhanusha (2)


दिपेन्द्रप्रसाद सिंह