'जत्काल'का पीडा ! ज्यान जानैलाग्दा समेत छुदैनन् परिवारले

  ०७६ कात्तिक ३ गते

शिवनाथ गाउँपालिका–१ की २१ वर्षीया गोमति चाँड जत्काल (सुत्केरी महिलाको कालका रूपमा अथ्र्याइने शब्द) अर्थात सुत्केरी पीडाले छटपटाइरहेकी थिइन् ।

पति दानसिंह चाँड रोजगारीको सिलसिलामा भारतमा रहेका भएपनि गोमतिका परिवारका सासू र अन्य सदस्य भने घरमै थिए ।

गोमतिको रगत ह्वालह्वाल्ती बगिरहेको थियो । तर, उनलाई कसैले छोएनन् । किनकी यहाँको समाजमा सुत्केरी महिलालाई छुनु हुँदैन भन्ने कथित अन्धविश्वास विद्यमान छ ।

लगातार ५–६ घण्टा रगत बगेकै अवस्थामा घिसारिँदै स्थानीय स्वास्थ्य चौकीमा पुगेकी गौमतिको रगत रोकिएन ।

अन्यत्र रिफरका लागि पनि कुनै पहल भएन । लगातार १२ घण्टा रगत बगेपछि उनले प्राण छोडिन् । अहिले राष्ट्रपति महिला उत्थान कार्यक्रमले यस्तो समस्यामा परेका महिलाहरूलाई तत्काल हेलिकप्टरबाट समेत उद्दार गर्ने गरेको छ ।

तर, गौमतिको प्राण रक्षाका लागि यो गाउँमा त्यति जान्ने कोही भएनन् । शिवनाथ गाउँपालिका–१, तेर्साबाटा भल्यामा रहेको सामुदायिक स्वास्थ्य एकाईमा गएको भदौ ३० गते बेलुकी ७ बजे सुत्केरी हुन आएकी गोमतिले राति १ः३० बजे शिशु जन्माइन् ।

सुत्केरी भएपछि रक्तश्राव रोकिएन । स्वास्थ्य संस्थामा रक्तश्राव रोक्ने औषधि थिएन । साथमा आएकी गोमतिकी सासू लछुदेवी चाँडले सुत्केरी बुहारीलाई छुन मानिनन् । राति डेढ बजेदेखि रक्तश्राव हुँदा स्वास्थ्य संस्थामा तड्पिएकी गोमतिको आइतबार दिउँसो २ बजे मृत्यु भयो ।

यो घटनाका साक्षी अरू कोही नभएर सास्थ्य संस्थाका अहेब पदमसिंह साउद, अनमी भूमेश्वरी महरा र सासू लछुदेवी चाँड थिए ।

अहेव पदमसिंह साउदले भने–‘स्वास्थ्य संस्थामा रक्तश्राव रोक्ने औषधि थिएन । अनमी पनि त्यति तालिम प्राप्त होइनन् । परिवारलाई अन्त लैजान भने पनि उहाँको सासुले छुन मान्नु भएन । अन्त खबर गर्न पनि स्वास्थ्य संस्था रहेको ठाउँमा फोन लाग्दैन । १२ घण्टापछि सुत्केरीको मृत्यु भयो ।’

सुत्केरीको मृत्यु भएपछि मात्रै स्वास्थ्यकर्मी र सुत्केरीका आफन्तले गाउँपालिकामा खबर गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए ।

गाडीमा लग्न समेत अछुतो मान्छन्
यहाँका प्राय ग्रामीण क्षेत्र अहिले सडक सञ्जालले जोडिएका छन् । गाउँमा गाडी पुगेपनि सुत्केरी बोक्न मान्दैनन् गाडीधनी ।

सुत्केरीलाई गाडीमा बसाले गाडी नै छुइन्छ भन्ने कथित मान्यताका कारण सुत्केरी महिलालाई गाडीमा लैजान नमान्ने गरेको पाटन नगरपालिका–९ का प्रेमसिंह भाटले बताए ।

उनले भने–‘सुत्केरी गराउन स्वास्थ्य संस्थामा लग्ने बेलामा बिन्ती गरे मान्छन् । तर, सुत्केरी भएर फर्कने बेलामा त कुनै हालतमा बोक्न मान्दैनन् ।’

पाटन नगरपालिका–९ कै मदन महराकी बुहारीलाई पनि सुत्केरी व्यथा लाग्दा प्राथमिक स्वास्थ्य केन्द्र पाटन लग्नुपर्ने भयो ।

तर, उनलाई कुनैपनि गाडीले बाक्न मानेनन् । महराले भने–‘सुत्केरीलाई गाडीमा बोक्नै मान्दैनन् । मानिहाले पनि तेब्बर भन्दा बढी भाडा लिन्छन् ।’

बैतडीलगायत सुदूरपश्चिमका अधिकांश जिल्लाहरूमा सुत्केरीलाई नछुने समस्या रहेको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । उनले भने–‘बरू बिरालोको बच्चा छुन्छन् ।  तर, सुत्केरीलाई छुँदैनन् । यो बिडम्बना हो हाम्रो सुदूरपश्चिमको !’

सुत्केरी छुनु हुदैन भन्ने कथित रूढीबादी मान्यताका कारण सुदूरका महिलाहरूले सुत्केरी अवस्थामा ज्यान जोखिममा पार्नुपरेको उनको भनाई छ ।


नरी बडु