छोरी शिक्षा विमा प्रदेशभर लागु

  ०७५ फागुन २० गते

प्रदेश २ मा  ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम विधिवत रूपमा सुरू भएको मुख्यमन्त्री लालबाबु राउतले फागुन १९ गते पत्रकार सम्मेलन गरि घोषणा गरेका छन् । ०७५ माघ १ गतेबाट नै लागू हुने गरी प्रदेशभर यो योजना कार्यान्वयनमा ल्याइएको हो ।

यसभन्दा अघि प्रदेश २ को आठ ओटा नगरपालिकाबाट सुरू भएको छोरी शिक्षा विमा कार्यक्रम प्रदेशभर लागु भएको छ ।

प्रदेश सरकारले यस कार्यक्रम अन्तर्गत माघ १ गतेपछि जन्मिएको बालिकाहरूलाई १ लाख २५ हजार रुपियाँको विमा गर्ने छन् । सो विमाको लागि प्रदेश सरकारले प्रभु बैङ्कसँग सम्झौता समेत गरिसकेको छ ।

प्रदेश सरकारले नवजात बालिकाको नाउमा एकमुष्ट रकम जम्मा गरेपछि २० वर्ष पछि बैङ्कले बालिकालाई १ लाख २५ हजार रुपियाँ रकम एकमुष्ट उपलब्ध गराउने छ ।

तर, शिक्षाको लागि रकमको आवश्यकता परे प्रदेश सरकारको सिफारिसमा बिचमा समेत केही रकम झिक्न पाउने व्यवस्था गरिएको छ ।

विमाको लागि नवजात छोरीको फोटो, आमा वा बुवाको नागरिकता, जन्म दर्ताको प्रमाणपत्र र वडा सिफारिस सहितको कागजातहरू मुख्यमन्त्री कार्यालयमा पेश गरेपछि त्यहाँ कार्यालयको सिफारिसमा बैङ्कले खाता खोल्नेछ ।

छोरी विमा कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारले स्वयम्सेवक समेत परिचालन गर्ने छ । यस कार्यक्रमका लागि सङ्घीय सरकारले समेत ५० करोड विशेष अनुदान उपलब्ध गराएको मुख्यमन्त्री राउतले जनाएका छन् ।


विनोदकुमार रविदास